८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको नीतिविपरित लाभग्राहीकाे घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



१० असोज, चौतारा । सरकारको नीतिविपरित स्थानीय तहका जनप्रतिनिधीहरूले सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गर्न थालिएको छ । लाभग्राहीलाई सिधै भत्ता दिँदा व्यापक अनियमितता भएको पाइए पछि सरकारले बैंकबाट भत्ता बितरण गर्न बैंकहरूसँग सम्झौता गरिरहेका छन् ।

लाभग्राहीले बैंकबाट भत्ता लिन झन्झट बेर्होनु परेको भन्दै चौतारा साँगाचोकगढीका जनप्रतिनिधीले दशैंको मुखमा लाभग्राहीहरूको घरमै गएर भत्ता बाँडेका छन् ।

सबै ठाउँमा बैंक उपलब्ध नहुने र अनिवार्य बैंकमा उपस्थित भई खाता खोली भत्ता झिक्न बैंकले मञ्जुरीनामा समेत अस्वीकृत गरेकाले सेवाग्राहीलाई समस्या परेको थियो । अब घरबाटै भत्ता बुझ्न पाएकामा वडा नं ७ निवासी रुद्रबहादुर दंगाल खुशी देखिए । त्यस्तै ८४ वर्षीय मीरबहादुर श्रेष्ठका दम्पतीले पनि बोकिएर बैंकमा ओहोरदोहोर गर्दा सास्ति खेप्न परेको कारण घरमै भत्ता पाउँदा खुशी लागेको बताए ।

नगरपालिकामा हाल कार्यकारी अधिकृतसमेत नभएका कारण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट अख्तियारी पत्र लिएर पहिलो चौमासिकको भत्ता बितरण गरिएको नगरका उपप्रमुख जानुका पराजुलीले बताइन् । भत्तावापत एक करोड ७५ लाख वितरण गरिएको उनले बताईन् ।

“दशैंका बेला भत्ता पाउन झन्झट नहोस् भनेर घरमै पुगेर बितरण गरेका हौं,” उनले भनिन्, “पहिले कर्मचारीले बदमासी गरे पनि हामी जनप्रतिनिधिले अनियमितता नगर्ने प्रतिबद्धता गरेर भत्ता वितरण गरेका हौँ ।”

सरकारले गत बर्षभित्रै मलुकभरका साढे २२ लाखभन्दा बढी लाभग्राहीलाई बैंकबाट भत्ता दिने घोषणा गरेको थियो । तर अहिलेसम्म नगरपालिकाका १ सय ३७ र गाउँपालिकाका २ सय ८५ वडामा मात्रै बैंकबाट भत्ता बितरण भईरहेको छ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रम संघीय सरकारको रहेको र कार्यान्वयनको क्रममा स्थानीय तहले समन्वय गर्नु पर्ने व्यवस्था छ । लाभग्राहीको हातमै भत्ता दिँदा मृत्यु भएका, बसाइँ सरेका, उमेर पुगेका लाभग्राहीको लगत कट्टा नगरि रकम हिनामिना हुँदै आएको छ । अनियमितता रोक्न केन्द्रीय पञ्जीकरण विभागले अनिवार्य बैंकबाट भत्ता बितरण गर्न नीतिगत छलफल गरिहेको छ ।

साथै विभागले बैंकहरूसँग पनि छलफल गरिरहेको छ । तर जनप्रतिनिधीले भत्ता घरमै पुगेर बाँड्न थाले पछि बैंकबाट भत्ता बाँड्ने सरकारको लक्ष्यमाथी बाधा पुगेको छ । स्थानीय तहको निर्वाचन पछि बैंकबाट भत्ता बितरण गर्ने कामले खासै गति लिन सकेको छैन । रासस

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलबार ००:००