
काठमाडौं । डेढ वर्षअघि तीन जनाको उपचारबाट सुरू भएको बुढानीलकण्ठको नगर अस्पतालमा अहिले दैनिक ३ सय जनासम्म विरामीले उपचार सेवा पाइरहेका छन् ।
सोमबार अस्पतालको बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले शुरूमा केही कर्मचारीले बहिरंग सेवाबाट ३ जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरूवात गरिएको बताए । बर्थिङ सेन्टरको उद्घाटन बागमती प्रदेशका सांसद अमन मास्केले गरेका थिए ।
“सुरूमा अस्पताल चलाउन सक्दैन कि भनेर शंका गर्नेहरू पनि थिए । तर आज हाम्रो नगर अस्पतालले चौविसै घण्टा इमर्जेन्सीसहित बहिरंग सेवाबाट दैनिक ३ सय बिरामीको उपचार सेवा दिइरहेको छ,” अधिकारीले भने, “आजबाट बर्थिङ सेन्टरको सुरूवात भएको छ । यसबाहेक थप सेवाहरू पनि बिस्तार गर्दैछौँ ।”
अस्पताल २०८१ बैशाखदेखि सञ्चालनमा आएको हो । संघ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको मेयर अधिकारीले बताए । थप सेवा विस्तार गर्न मेडिकल सामाग्रीहरू खरिद प्रक्रियामा रहेको पनि अधिकारीले जानकारी दिए ।
यसैगरि नगरपालिकाका उपमेयर अनिता लामाले बर्थिङ सेन्टरको सुरूवात भए पछि मातृशिुशु स्वाथ्यमा सुधार आउने दाबी गरिन् ।
“हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन । तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिए पछि मातृशिशु स्वास्थ्यमा थप सुधार हुनेछ,” लामाले भनिन्, “यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुङ्गा हो । अस्पतालमा थप सेवाहरू विस्तार गरिरहेका छौँ ।
सेवासँगै आम्दानी पनि बढ्यो
सेवा लिने नागरिकको संख्या बढेसँगै अस्पतालको आम्दानी पनि बढेको छ । गत आर्थिक बर्षमा अस्पतालले १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालू आर्थिक वर्षको ५ महिनामै १ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ ।
“सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रुपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफा घाटा मात्रै हेरिँदैन । आवश्यकता अनुसार नगरपालिकाले भरपुर सहयोग गर्दै आएको छ,” पोखरेलले भने, “अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू बिस्तार गर्ने, प्राविधक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामाग्रीहरू खरिद गर्ने प्रक्रियाहरू चलिरहेको छ ।”



प्रतिक्रिया