३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठ नगर अस्पताल दोस्रो बर्षमा, नगरवासीको हेल्थ प्रोफाइल बनाउन सुरू



काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगरबासीको हेल्थ प्रोफाईल बनाउने कामको सुरू गरेको छ । बुढानीलकण्ठ नगर अस्पतालको दोस्रो वार्षिकोत्सव कार्यक्रममा नगरपालिकाकी उपमेयर अनिता लामाले वडा नं. ४ र ७ बाट प्रोफाईल बनाउन सुरू गरेको बताइन् ।

“सबै नगरवासीको हेल्थ प्रोफाइल बनाउने लक्ष्य राखेर विषेशज्ञ डाक्टरसहितको टीमले काम सुरू गरेको छ,’ लामाले भनिन्, “यसले हाम्रो नगरभित्र स्वास्थ्य समस्या पहिचान गरि उपचार गर्न सहज हुनेछ ।”

कार्यक्रममा नगरपालिकाका मेयर मीठाराम शर्माले दुई वर्षअघि ओपिडीमा ३ जना बिरामीको उपचारबाट सुरू गरेको बताए । हाल नगर अस्पतालले दैनिक ३ सय जनासम्म बिरामीको उपचार गरिरहेको शर्माले बताए ।

“अस्पताल सञ्चालन गर्न सहज थिएन । हामीलाई संघ र प्रदेश सरकारले आर्थिक तथा प्राविधिक सहयोग निरन्तर दिइरहेको छ । सुरूका दिनबाट कर्मचारी र स्वास्थ्यकर्मीले पनि निरन्तर प्रयास गरिरहेका छन,” शर्माले भने, “आगामी दिनमा अस्पताललाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आगामी बर्षको बजेटमा अस्पताललाई थप उपकरण र जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता जनाए । “उपकरण र पूर्वाधार दिएर मात्रै पुग्दैन । अस्पताललाई थप जनशक्ति पनि उपलब्ध गराउने प्रतिवद्धता जनाउँछु,” थापाले भने, “आगामी आर्थिक वर्षमा स्थानीय तहले सञ्चालन गरेका अस्पतालहरूलाई सक्षम बनाउने हाम्रो मन्त्रालयको लक्ष्य छ ।”

कार्यक्रममा डा. भगवान कोइरालाले स्थानीय तहले सञ्चालन गर्ने अस्पतालहरू सक्षम भए ठूला अस्पतालहरूमा विरामीको चाप घट्ने बताए । “यहाँको जस्तै सबै स्थानीय अस्पताल सक्षम भए गम्भीर प्रकृतिका उपचार गर्ने ठूला अस्पतालहरूमा बिरामीको चाप घट्नेछ,” कोइरालाले भने, “अस्पताल बिस्तारै सक्षम हुन्छन् । त्यसका लागी बलियो टीम वर्क र गुणस्तरीय उपचार आवश्यक आवश्यक हुन्छ ।”

अस्पतालका प्रशासकीय अधिकृत गोपाल पोखरेलले अत्याधुनिक उपकरण र विषशेज्ञ सेवा सहितको एक दर्जन उपचार सुविधा थप गर्ने योजना रहेको बताए । “नगरपालिकाले अस्पतालाई स्वायत्त बनाएको छ । आर्थिक रुपमा पनि अस्पताल आत्मनिर्भर गराउने लक्ष्य छ,” पोखरेलले भने, “स्थापनाकालदेखि अहिलेसम्मको दुई बर्षभित्र करिब ६२ हजार बिरामीको उपचार गरिएको छ ।”

बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पताल २०८१ बैशाख १ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००