४ चैत्र २०८०, आइतबार | Mon Mar 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बच्चाले घरमा पकाएको खानै मान्दैन, पसलको मात्रै खोज्छ’



नवलपरासी । सरावल गाउँपालिका वडा नं. ३ का जगतनारायण चौधरी र अमृता चौधरी दम्पती हुन् ।

उनीहरूका ९ बर्ष र डेढ बर्षका छोरीहरू छन् । जगतनारायण स्थानीय महेन्द्र माविका शिक्षक हुन् भने अमृता घरमा किराना पसल चलाउँछिन् । उनीहरू दुवैलाई थाह छ कि, पसलको भन्दा घरको चुल्होमा पकाउने खाना पोषिलो हुन्छ भनेर । सकेसम्म घरकै चुल्होमा पकाएर खाना खान्छन् पनि ।

तर उनीहरूको अनौठो अनुभव छ । जगतनारयण भन्छन्, “डेढ बर्षकी छोरीले पसलमा बेच्न राखिएको खानेकुरा सबै खान खोज्छिन् । घरमा पकाएको खानै मान्दैन । रोएर हैरान पार्छिन् । तै पनि चुल्होमै बनाएको खुवाउन बल गर्दै आएका छौँ ।”

ठूला मान्छेहरूको भन्दा बच्चाहरूको खानाको व्यवहार परिर्वतन गर्न गाह्रो रहेको अमृताको अनुभव छ । “ठूला मान्छेलाई कुरा बुझाउन सझिलो हुन्छ । बच्चालाई कसरी बुझाउनु ? बच्चाको खानपानको व्यवहार कसरी परिर्वतन कसरी हुन्छ भन्ने नै थाह छैन ।”

सरावल गाउँपालिकाका पोषण स्वयमसेवक भीम भण्डारी पनि बच्चाको खानेबानी परिवर्तन गराउनेबारे कुनै तरिका वा विधी नभएको बताउँछन् ।

“घरमा बनाएको खान मतलब नगर्ने, जंकफूड मात्रै खान खोज्ने सबैजसो बच्चाको समस्या हो,” भण्डारी भन्छन्, “जंकफूड खुवाउन हुन्न, घरमा बनाएको खाना खुवाउनु पर्छ भन्ने अभिभावकलाई थाह छ । तर बच्चाको बानी परिर्वतन कसरी गराउने भन्नेबारे अनभिज्ञ छन् ।”

विज्ञको सुझाव

बच्चाको पोषणलाई कसरी सन्तुलित बनाउने भन्नेबारे विभिन्न अध्ययन अनुसन्धानहरू भएका छन् । कुनै औषधी खुवाउने वा खोप दिएर भन्दा पनि अभिभावकले बच्चाप्रति गरिने व्यवहारले बानी परिर्वतन हुने विज्ञहरूको निष्र्कष छ ।

नेपाली भाषाको समाचार अनलाईन स्वास्थ्य खबर डटकममा प्रकाशित बालरोग बिषशेज्ञ डा. विनिता जोशीको लेखका अनुसार उचित खानपानका लागी बच्चालाई सानैदेखि अभ्यस्त गराउँदै लैजानु पर्छ ।

खाना खुवाउँदा बच्चालाई रमाइलो वातावरणको सृजना गर्ने, खान नमान्दा कर नगर्नेजस्ता विधीहरू अपनाउन सकिने जोशीको लेखमा उल्लेख छ ।

परिवारका अन्य सदस्यहरूसँगै राखेर बच्चालाई खाना खुवाउनु पर्ने पनि जोशी निष्र्कष छ । साथै बच्चाले खाना खाइरहेको वा खुवाई रहेको बेला मोबाइल, टीभी वा ग्याजेटहरू हेर्न दिन नहुने जोशी बताउँछिन् ।

मोवाईल, टीभीहरू हेर्दै खाना खाँदा बच्चाले आफू अघाएको थाह नपाउने र त्यसले पछि अधिक मोटोपनाको समस्या निम्त्याउने गर्दछ । यसले विद्यालय जान थाले पछि पनि समस्याहरू निम्तिने गर्दछ ।

सँधै स्कुल जानेवित्तिकै मोबाइल टीभीको पहुँचबाट टाढा हुँदा मानसिक असर पर्ने र खाना खान पनि रुची नदेखाउने समस्या आउन सक्ने जोशीको लेखमा उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ००:००