१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाका स्थानीय तह भवनविहीन



माघ २८, खलङ्गा । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडाका भवनहरू छैनन् ।

स्थानीय तह गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म स्थानीय तहले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ ।

भवन निर्माणका लागि सरकारले बजेट व्यवस्थापन नगर्दा निर्माण गर्न नसकिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए ।

न्यौपाने भन्छन्, “भवनका लागि जग्गा पाउनु असाध्यै गाह्रो र भवन कुन ठाउँमा बनाउने भन्ने विषयमा कार्यपालिकाभित्र विवाद छ । त्यसैले केही निर्णय हुन सकेको छैन ।”

चालू आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै बजेटबाट भवन निर्माण गर्न प्रक्रिया थाल्ने न्यौपानेले बताए ।

जिल्लाका स्थानीय तहका भवनबारे कार्यपालिकाभित्र विवाद हुदाँ स्थानीयवासीलाई पायक पर्ने स्थानमा भवन निर्माण गर्न कठिन भएको हिमा गाउँपालिका अध्यक्ष रजत शाहीले बताए ।

गाउँपालिकाको आफ्नो भवनबारे कार्यपालिका बैठकमा कहाँ राख्दा स्थानीयवासीलाई राहत हुन्छ भन्नेबारे छलफल गरी सही निर्णय लिने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

पातारासी, गुठीचौर, सिँजा र कनकासुन्दरी गाउँपालिकालाई स्थानीयवासीबाट जग्गादान भएकाले छिट्टै भवन निर्माण गरिने ती गाउँपालिकाका अध्यक्षहरूले बताए । रासस

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार ००:००