८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरामीलाई गाउँमा पानी दिनेसम्म मान्छे भएन




हेमन्त केसी

जाजरकोट, १५ भदौ ।

जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् ।

तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको मृत्यु हुनसक्ने त्रिवेणी नलगाड नगरपालिका वडा– ५ का वडा अध्यक्ष सुदीप शर्माले बताउछन् । गाउँमा एकै घरमा चारभन्दा बढी बिरामी छन्, पानी दिनेसम्म मानिस छैन, उनले भने । स्वास्थ्य कार्यालयमा छिटो बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी परिचालन गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा प्रहरीमार्फत खबर गरिएको पनि उनले बताए ।

यता यहाँका सबै स्वास्थ्य संस्थामा दैनिक ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढेपछि स्वास्थ्य संस्थामा उपचार गर्न नै मुस्किल भएको इलाका स्वास्थ्य चौकी, दल्लीले जनाएको छ । जिल्लाका दूरदराजमा रहेर जनताको पहुँचमा स्वास्थ्य संस्था नहुँदा सर्वसाधारण मेडिकलमा हजारौ रकम खर्चेर अन्धाधुन्ध उपचार गर्न बाध्य भएको त्रिवेणी नलगाड नगरपालिका– ५ का कर्णबहादुर खत्रीले बताए ।

वर्षायाममा जथाभावी फुटेका मूलबाट ल्याइएको पानी पिउँदा र खाना राम्रोसंग पकाएर नखाँदा समस्या आएको डाक्टरले बताएका छन् । बिरामीको भीड बढेपछि डाडागाउँको स्वास्थ्य संस्थामा औषधि नै सकिएको छ । चार दिनदेखि स्लाइन पानी सकिएको भएपनि जिल्ला जाने मानिस नहुँदा मागअनुसार पूर्ति हुन सकेको छैन ।

बारेकोट गाउँपालिकाका सबै वडाका प्रत्येक घरमा भाइरलका बिरामी रहेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताए । यही ठाउँमा छ दिनअघि दुई नाबालकको मृत्यु भएको थियो । स्वास्थ्य संस्था टाढा हुँदा उपचारका लागि बिरामी अस्पताल पुर्याउन नसक्दा समस्या थपिएको जिरीका प्रेम सिंहले बताए ।

त्यस्तै, यता पूर्वको रग्दा र भगवतीका दुर्गम गाउँमा भाइरलकै प्रकोपले सयौँ गाउँले घरमै थला परेको स्थानीय तेजबहादुर विकले बताए । कुनै घर पनि बिरामी नभएको छैन, कसलाई उपचार गर्नु, काल आए मरिन्छ, उनले भने । स्वास्थ्य संस्था टाढा छ, स्थानीय मेडिकलमा औषधि महँगोमा बिक्री हुने गर्छ, उनले थपे । बालबालिका र वृद्ध बढी बिरामी भएको स्थानीयको भनाइ छ ।

गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयले माग गरे पनि जिल्ला स्वास्थ्य कार्यालयले कुनै पहल नगरेको स्थानीयको आरोप छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा सही समयमा बिरामीले उपचार नपाएको स्थानीयको आरोप छ । वर्षायाममा खोला बढेका र बाटाहरु भत्किएका कारण भनेको समयमा एक्लै जान सकिँदैन, अर्को गाउँ दहका काशी पुनले बताए । फोनसेवासमेत अवरुद्ध भएका कारण गाउँमा के भएको छ भन्नेसम्म जानकारी आउन नसकेको बारेकोटका नरबहादुर गिरीले बताए ।

स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा थप समस्या आएको छ । भगवती स्वास्थ्य चौकीमा छ महिनादेखि तीनवटा दरबन्दी खाली छ । त्यस्तै, नायकवाडा स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नभएको पाइएको छ । बिरामी भएको गाउँमा औषधि लिएर स्वास्थ्यकर्मी जाँदा स्वास्थ्य संस्था खाली हुने भएकाले गाउँमा जान नसकेको इलाका स्वास्थ्य कार्यालय, दल्लीले बताएको छ ।

विद्यालयमा आएका विद्यार्थीसमेत बिरामी हुँदै विद्यालयबाटै बोकेर अस्पताल लानुपर्ने बाध्यता आएको शिक्षक बताउँछन् । खाना र पानीमा ध्यान नदिँदा धेरै समस्या आएको जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लले बताए ।
रासस

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहिबार ००:००