१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धारा जडानपछि दलित बस्तीमा खुशियाली



पुस २०, नेपालगञ्ज । छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेका बाँके जानकी गाउँपालिका गुरुवागाउँको दलित बस्तीमा थोरै भए पनि अहिले खुशियाली आएको छ ।

दलित बस्तीमा नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरेपछि आफ्नै घर, आँगनमा पानी भर्न पाएपछि दलित बस्तीमा खुशियाली छाएको हो । फाउण्डेशनले गाउँपालिकाको वडा नं ५ गुरुवागाउँमा ५१ वटा घरमा खानेपानीका धारा जडान गरेपछि छुवाछूत र खानेपानी नपाउने पीडाबाट त्यहाँका दलित समुदायलाई राहत मिलेको छ ।

अत्यन्त गरीब बस्तीका रुपमा चिनिएको गुरुवागाउँका ५१ घरमा गाउँपालिकाको सिफारिशमा धारा जडान गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक पवन सिंहले जानकारी गराए ।

धारा जडान भएपछि गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, वडाध्यक्ष रमेश वर्मा, किशोर थापा र अधिकारकर्मी आलम खानसहितको एक टोलीले गुरुवागाउँका सर्वसाधारणसँग धाराको स्तर लगायतका विषयमा जानकारी लिएका छन् ।

“गाउँपालिकाको निगरानीमा निकै महङ्गो र स्तरीय धारा निःशुल्क जडान गरिएको छ,” अध्यक्ष यादवले भने, “अब आफ्नो गाउँपालिकामा दलितमाथि हुने सबैखाले विभेद हटाइनेछ ।” यसअघि सो दलित बस्तीमा खानेपानीको कुनै विकल्प नहुँदा छिमेकी गाउँबाट पानी लिन जानुपर्थ्यो र त्यसक्रममा सधैँ झगडा हुने गर्थ्यो ।

फाउण्डेशनका अध्यक्ष शक्तिकुमार बंशकारले बाँकेका पिछडिएका गाउँबस्तीमा शुरु गरिएको ‘एक घर एक धारा’ कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको जिकिर गरे । रासस

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार ००:००