१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट नआउँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन



१४ वैशाख, बैतडी ।
मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने भएपनि हालसम्म वितरण नभएको हो ।

चौमासिकरुपमा वितरण गर्दै आइएको सुरक्षा भत्ता चालू आर्थिक शुरु भएदेखि हालसम्म नपाउँदा अपांगता भएका व्यक्ति, एकल महिला तथा वृद्धवृद्धालाई निकै समस्या भएको छ । १० महिना भइसक्दासमेत दोगडाकेदार गाउँपालिकाले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा तीन हजार ६०० बढी लाभग्राही निराश बनेका हुन् ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई निकै दुःख लागेको दोगडाकेदार गाउँपालिका ६ का हरिसिंह ऐरीले बताए । सामाजिक सुरक्षाभत्ताबाटै गुजारा गर्दै आएको हुँ, उनले भने “क’ वर्गको शारीरिक अपांगता भएको हुँ, मैले १० महिनासम्म सामाजिक सुरक्षाभत्ता नपाउँदा निकै समस्या भएको छ ।”

संघीय संरचनाअनुसार देशमा स्थानीय तह भइसकेपछि जनताले सबै सेवा सुविधा गाउँघरमै समयमा पाउँछौँ भन्ने आशा राखेका नागरिक सामाजिक सुरक्षा भत्तासमेत समयमा नपाउँदा निरास भएका छन् । जनप्रतिनिधि आइसकेपछि सबै सेवासुविधा छिटो, छरितो पाउने आशामा रहेका नागरिकमा निराशा छाएको छ ।

सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक समयमै अद्यावधिक गर्न नसक्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिए । गाउँपालिकाले लाभग्राहीको सही विवरण स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाइसकेको उनले बताए ।

अर्थ मन्त्रालयबाट रकम स्वीकृत भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट स्वीकृत हुने प्रक्रियामा रहेको केही दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण हुने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । मन्त्रालयले एक दुई दिनमै गाउँपालिकाको खातामा रकम हाल्ने खबर आएको उनले बताए ।

दोगडाकेदारमा एक चौमासिकका लागि एक करोड ८५ लाख रकम आवश्यक पर्ने भएपनि हालसम्म दुई चौमासिक भन्दा बढी भइसक्दासमेत १ करोड ५ लाख मात्रै मन्त्रालयले पठाएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

उनले भने, “अपुग रकम मन्त्रालयले पठाएपछि मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।” दोगडाकेदार गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने तीन हजार ६८४ नागरिक रहेका छन् ।
रासस

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ००:००