६ वैशाख, आठराई– तेह्रथुम ।
खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ । गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो ।
बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ । काठमाडौंमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो ।
आठराई क्षेत्रको खानेपानीको समस्यालाई हल गर्न झापाको दमकस्थित अर्पिट रियल स्टेट कम्पनीको लगानीमा बोरिङ गरी जमिनमुनिको पानी निकाल्ने काम भएको हो । बोरिङबाट पानी निकाल्न आठराई गाउँपालिका–१ संक्रान्तिबजारको वडा कार्यालयले अर्पिटलाई अनुमति दिएको हो ।
सतहको पानी बोरिङ गरी बाहिर निकाल्न मात्र ५० लाख, ट्याङ्की निर्माण र पाइप विस्तारका लागि ५० लाख गरी १ करोड लगानी हुने अर्पिटका प्रबन्धक भैरव सिटौलाले बताए । पानी निकाल्न स्थानीयवासी झुमनाथ काफ्लेले ४० लाख मूल्य बराबरको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
संक्रान्तिबजारस्थित मालपोत चोकबाट पानी निकाल्ने स्थान झुमेडाँडासम्म केजी निर्माण सेवाले ८ लाख लागत बराबरको १ किलोमिटर मोटरबाटो निःशुल्क निर्माण गरिदिएको प्रबन्धक सिटौलाले बताए । सुख्खायाम शुरु भएपछि आठराईको संक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गामा खानेपानीको अभाव हुने गर्छ ।
रासस
प्रतिक्रिया