६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै बनेन माझी बस्ती



१५ फागुन, बागलुङ ।
अट्ठाइस वर्षदेखि थातथलोबाट विस्थापित सीमान्तकृत माझी परिवारले यो वर्षको जाडो पनि अस्थायी घर टहरामा कटाए । गएको दशैँमा नयाँ घर पाउने आश्वासन पाएका माझीहरुका लागि निर्माण गर्न लागिएको आवास ढिलासुस्तीका कारण उनीहरू अहिले बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौरमा दुःखजिलो जीवनयापन गर्न बाध्य छन् ।

विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा वडा नं १ कै खनियाबासबाट १४ माझी परिवार विस्थापित भएका थिए । माझी बस्ती व्यवस्थापनको जिम्मा लिएको बागलुङ नगरपालिका निर्धारित अवधिमा बस्ती निर्माण गर्न असफल भएको छ ।

निर्माण कम्पनीसँग भएको एक वर्षे सम्झौता गत पुसमा सकिएपछि पुनः छ महिना अवधि थपेर काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माणमा सुस्त गति र कतिपय प्रक्रियागत कारणले ढिलाइ भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

उनले बजेट संशोधनसहित सम्झौता अबधि थप गरिएको र आउँदो वैशाखसम्म बस्ती निर्माणको काम सकिने उल्लेख गरे । “दुई, अढाइ महिनामै काम सकेर बस्ती हस्तान्तरण गर्छौं,” प्रमुख पौडेलले भने । निर्माण कम्पनी ‘मुक्तिनाथ÷विएन÷त्रिशक्ति, जेभी’ ले बस्ती निर्माणको काम गरिरहेको छ ।

समयमै निर्माण सामग्री उपलब्ध नहुनु, पानीको अभाव जस्ता कारणले पनि काम प्रभावित भएको मजदुर पूर्णबहादुर शाहीले बताए । उनका अनुसार अन्तिम घरको जग हाल्ने काम हालै शुरु भएको छ । बाँकी १३ घरको बाहिरी संरचना ठडिए पनि धेरै काम बाँकी नै छ ।

नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले ८० प्रतिशत काम पूरा भएको र वैशाख सम्ममा माझी बस्ती व्यवस्थापन भइसक्ने बताए । लामो समयसम्म नगरपालिकाले माझी बस्ती व्यस्थापन गर्न नसकेपछि समुदायको सहभागितामा काम अघि बढेको थियो ।

प्रक्रियागत ढिलासुस्तीले बस्ती निर्माणमा ढिलाइ भएको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । “एक करोडभन्दा माथिको योजना भएकाले प्रक्रियामा जानुप¥र्यो, निर्माण कम्पनीले पनि समयमै काम गर्दैन,” उनले भने ।

‘नमूना’ र प्राथमिकता प्राप्त योजनामा नगरपालिकाले ढिलासुस्ती गर्न नहुने स्थानीयवासी प्रशान्त माझीले बताए । अघिल्लो सम्झौतामा कूल ८२ लाख ३० हजारमा बस्ती बनाउने भनिए पनि अहिले लागत बढेर १ करोडभन्दा माथि पुगेको छ । शौचालय सहितका ३ कोठे घरमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरिएको छ ।

नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण भइरहेको छ । घर निर्माणका लागि माझी परिवार, नगरपालिका र अन्य स्थानीयवासीले जग्गा व्यवस्थापन गरेका थिए ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००