१२ फागुन, पर्वत । माटोमा उत्पादन क्षमता कम भएर अन्नबाली उत्पादनमा ह्रास आएपछि फलेवास नगरपालिकाले माटो परीक्षण शिविर चलाएको छ ।
क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए ।
“सबै वडा गरि ७० भन्दा बढी ठाउँको माटोे केन्द्रमा ल्याई विशेषज्ञबाट परीक्षण गरिन थालेको छ,” उनले भने, “निर्वाहमुखी कृषिमा निर्भर किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन यस्तो नीति ल्याएको हो ।”
दिगो कृषि उत्पादनको लागि नगर क्षेत्रभित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास गरिने नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् ।
माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटो अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग गर्ने उनले बताइन् । समस्यायुक्त माटोको अध्ययन विश्लेषण गरी सोको आधारमा नगरपालिकाले कार्यक्रम सञ्चालन गरी कृषि उत्पादन बढाउने उनले दाबी गरिन् ।
परीक्षणका क्रममा माटोमा अम्लियपन निकै बढ्दै गएको पाइएको माटो विज्ञ टुकबहादुर थापाले बताए । माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटास युक्त मलको कमि हुँदा माटोको सुक्ष्म तत्वसमेत नास हुँदै जान थालेको उनले बताए ।
माटोलाई जीवित राख्न आवश्यक खाद्यतत्व कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्य पदार्थ लिन नसक्ने उनले बताए । माटोलाई जीवित राख्दै उत्पादन बढाउनको लागि माटोे परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न माटोविज्ञ थापाले सुझाव दिए ।
कुनै पनि माटोको अम्लीयपना थाहा पाउन वा बिरुवाको पोषक तत्व थाहा पाउन साधारणतया जमिनको सतहदेखि १५ देखि २० सेन्टिमिटर तलसम्मको माटो किसानले परीक्षणका लागि ल्याउनु पर्ने फलेवास नगर कार्यपालिकाको कृषि विकास शाखा प्रमुख नारायण पौडेलले बताए । रासस
प्रतिक्रिया