५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचारप्रसार नहुँदा प्रसिद्ध बाटुलेचौर मन्दिर ओझेलमा




लक्ष्मीप्रसाद सापकोटा

फलेवास, पर्वत, २७ असोज ।
पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको ऐतिहासिक बाटुलेचौर मन्दिर उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बाटुलेचौरमा रहेका शिव तथा देवी मन्दिर संरक्षणको अभावमा संकटमा समेत पर्न थालेका हुन् । स्थानीयवासी तथा स्थानीय निकाय र प्रशासनले चासो नदिँदा पुरातात्विक महत्वका विभिन्न सामान र मूर्तिसमेत हराएका छन् ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । भृगु ऋषिको तपस्यास्थल समेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरी भएका छन् ।

संरक्षण अभावमा हाल रहेको मन्दिरका विभिन्न पुरातात्विक सामानसमेत विभिन्न समयमा हराइसकेको मन्दिरका पुजारी देवराज सुवेदी बताउछन् । विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गरेको देवी तथा शिवालय मन्दिरका पुराना मूर्तिसमेत हराएको पुजारी सुवेदीले बताए । मन्दिर वरिपरि रहेको समुदायले समेत मन्दिर संरक्षणमा चासो नदिएका कारण समस्या हुने गरेको उनको भनाइ छ ।

मन्दिरमा हाल रहेका संरचना पनि विभिन्न समयमा तोडफोड हुने गरेका भएपनि स्थानीय प्रशासनले केही चासो देखाएको छैन । मन्दिरको पुनःनिर्माण गर्न आवश्यक भएपनि कहीँकतैबाट सहयोग हुन नसक्दा समस्या भएको स्थानीय निलकण्ठ शर्माले बताए । ऐतिहासिक ठाउँको संरक्षणमा स्थानीय गाविसले समेत चासो दिएको छैन । जिल्ला विकास समिति र गाउँ विकास समितिले वर्षेनी लाखौँ रकम खर्च गर्ने गरेको भएपनि यस्ता ऐतिहासिक स्थलको संरक्षण गर्न कुनै चासो नदेखाएको उनीहरुको आरोप छ ।

निर्माणको मात्रै होइन मन्दिरमा तोडफोड र चोरी हुँदासमेत कसैले वास्ता नगर्ने गरेको स्थानीय हरिप्रसाद लामिछाने बताउछन् । मन्दिरमा पटकपटक तोडफोड गर्दा गाउँमै रहेको प्रहरी चौकीले समेत कारबाही नगरेको उनको भनाइ छ । गत वर्ष दानपेटिकामा भएको रकम समेत चोरी भएको र चोरी गर्ने व्यक्ति पहिचान हुँदा पनि स्थानीय ठूलीपोखरी प्रहरी चौकीले दोषीलाई कारबाही नगर्दा चोरको मनोबल झनै बढेको उनको भनाइ छ ।

ऐतिहासिक बाटुलेचौरमा रहेका अन्य भग्नावशेषको समेत संरक्षण र संवर्द्धन गर्नु जरुरी रहेको स्थानीयवासीको भनाइ छ । ऐतिहासिक महत्व बोकेको बाटुलेचौर क्षेत्रको गुठी र मन्दिरको जग्गा समेत अतिक्रमण भएको र अतिक्रमण रोक्नसमेत कसैले चासो नदिएको पुजारी सुवेदीको भनाइ छ ।

यस ठाउँमा खनजोत गर्दा कालो कोइला, पैसा तथा पुराना भाँडाकुँडा समेत भेटिने गरेको स्थानीयको भनाइ छ । अग्लो स्थानमा रहेको बाटुलेचौरबाट अन्नपूर्ण र धौलागिरि हिमशृंखलाका साथै पर्वत बागलुङ तथा स्याङ्जाका विभिन्न भाग तथा सदरमुकाम समेत देखिने भएकाले यस ठाउँले पर्यटकीय सम्भावना समेत बोकेको छ ।
रासस

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार ००:००