१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पशु बधशाला




पथरी
— मोरङ, २६ असोज । बजेट अभावमा केही वर्षअघिदेखि रोकिएको विराटनगरको बधशाला निर्माणको काम पूरा नहुँदै भत्किन थालेको छ । आर्थिक वर्ष २०६५/६६ मा सरकार र विराटनगर महानगरपालिकाको एक करोड १९ लाखको लगानीमा निर्माण शुरु गरिएको बधशाला निर्माण शुरु भएको आठ वर्ष पुग्दासमेत निर्माण सम्पन्न भएको छैन ।

बधशालालाई घेरेर सुरक्षित गर्न लगाइएको पक्का पर्खालसमेत भत्किएको छ भने उक्त पर्खालका इँटा समेत चोरी भएका छन् । विराटनगर महानगरपालिका पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवका अनुसार पुनः सरकारले एक करोड २४ लाख बजेट बधशाला निर्माणका लागि पठाएको छ ।

नगरवासीलाई स्वच्छ मासु बिक्रीका लागि उपयुक्त स्थान बनाउने उद्देश्यले बधशाला निर्माण थालिएको हो । तर बजेट नै नभएकाले निर्माण कार्य अलपत्र बनेको छ । निर्माण कार्य रोकिँदा निर्माण भइसकेका संरचना पनि भत्कन थालेका छन् । निर्माणलाई निरन्तरता दिन रकम अभाव भएको भनी निर्माण कार्य रोकिएको हो ।

पशुपक्षी महाशाखाका प्रमुख यादवले भने, “अब एक करोड २४ लाख आएको छ चाँडै बधशाला निर्माण सम्पन्न हुन्छ ।” यादवकै शब्दमा बधशाला निर्माण सम्पन्न गर्न सात करोड आवश्यक पर्छ । सरकारले वर्षेनी थोरै थोरै रकम पठाएर बधशाला निर्माण प्रक्रियालाई लम्ब्याइरहेको छ ।

विराटनगर महानगरपालिकामा दर्ता तथा अनुमति लिएका करिब २०० वटामात्र मासु पसल सञ्चालित छन् । तर नगरका विभिन्न स्थानमा गरी त्यसको तीन गुणाबढी मासु पसल सञ्चालनमा छन् । निर्माणाधीन बधशालासंगै उपभोक्ताको स्वास्थ्य सरोकार पनि अलपत्र परेको उपभोक्ता मञ्चका अध्यक्ष मोहन भट्टराई बताउछन् ।

उनी भन्छन्, “बधशाला नहुँदा स्वच्छ मासु कसैले खान पाएका छैनन् ।” व्यवस्थित बधशालाबिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ समेत कार्यान्वयन हुन नसक्ने जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सुशील अधिकारी बताउछन् ।

अधिकारीका अनुसार बधशाला नबनेपछि हाल बिक्री हुने मासुको स्वस्थताप्रति प्रभावकारी निगरानी र जाँच हुन नसकेको हो । उनले भने, “बधशाला निर्माण नभएसम्म उपभोक्ताले स्वच्छ मासु सेवन गर्न पाउँदैनन् ।”
रासस

प्रकाशित मिति : २६ आश्विन २०७४, बिहिबार ००:००