१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी प्रभावित क्षेत्रका बासिन्दाकाे स्वास्थ्यमा समस्या




सुरेश झा र अरुण यादव

राजविराज (सप्तरी), ३० साउन ।

सप्तरी जिल्लामा विगत ६ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् ।

बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाखोकी श्वासप्रश्वास, जिउ चिलाउने रोग फैलिएको स्थानीयवासीले बताएका छन् ।

सप्तरीको राजविराज, हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बरसाइन, सकरापुर, बोदेवरसाइन, रुपनी, कंचरुप नगरपालिका सकरदही, जोगिनीया, भारदह, इनरुवा, किरपुरा, डलुवा बेलहीलगायतका ग्रामीण तथा बजार क्षेत्रमा उक्त रोगहरूको प्रकोप फैलिएको हो ।

विभिन्न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी एवं चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेको सकरपुराका शिक्षक विपिन झा ले गुनासो गरे । आफू उपचार गराउन जाँदा कुनै चिकित्सक फेला नपरेको उनले बताए ।

सप्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रमा कटान र डुबानका कारण पक्की घर भएका छतमा बसेका छन्, भने खपडा टिन र फुसका घर भएका बासिन्दा घर छोडेर खुला आकासमुनि सडकको छेउछाउमा बस्न बाध्य भएका कारण महिला, बालबालिका तथा वृद्ववृद्वामा स्वास्थ्य समस्या परेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकले बताएका छन् । सो अस्पतालमा उपचारका लागि बाढीपीडित आउने गरेको बताइएको छ ।

यस सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीसंग सम्पर्क हुन सकेन । कार्यालयका कर्मचारीका अनुसार सम्बन्धित स्वास्थ्य चौकीका इन्चार्जलाई चौकीमा बस्न र बाढीपीडितका लागि सेवामा कमी हुन नदिन निर्देशन गरिसकेको बताइएको छ ।

बाढीका कारण ग्रामीण क्षेत्रका ठाउँ–ठाउँमा सडक क्षतिग्रस्त भएकाले सवारी साधन आवतजावतमा समस्या भएको छ । जसका कारण राजविराज सदरमुकाम आउन पनि समस्या भएको बिरामीको गुनासो छ ।

बिगत ६ दिनदेखि परेको वर्षाले सप्तरीको मोहुली, खाँडो, जिता, बिगुल त्रियुवा, खडक नदी र सप्तकोशी नदीमा आएको भीषण बाढीका कारण सप्तरीका करिब तीन हजारभन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।

बाढीबाट डुबानमा परेका एवं विस्थापित भएका परिवारका लागि उद्वार एवं राहत वितरण जारी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

सप्तरीमा बाढीबाट हालसम्म एकजना बेपत्ता भएका छन् भने ७५ प्रतिशत घरपरिवार बाढीबाट प्रभावित भएको अनुमान छ । राजविराज नगरपालिका ९ स्थित मलेठमा बाढीले नहर भत्काएको छ । राजविराज रुपनी सडक खण्डको पाँचकिलो भन्ने ठाउँमा समेत सडकको भित्री भागमा बाढीले कटान गरेकाले सो सडकमा यात्रा गर्न कठिन भएको छ ।

ग्रामीण क्षेत्रका अधिकांश बाटो क्षतिग्रस्त भएको छ । राजविराज १ स्थित पम्पकिनालको नहर भासिँदा ठूलो क्षति पुगेको चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्राले बताए ।

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका १ भारदहस्थित पश्चिम नहर पनि भत्केको छ । लगातारको पानीका कारण बाढी आउँदा तीन दिनदेखि बाढीपीडित भोकभोकै बसेको स्थानीयवासी श्यामसुन्दर खड्काले जानकारी दिए ।

घर अगनमा चार फिटसम्म पानी जमेपछि नहरको बाँधमा बस्न बाध्य रहेको उनले गुनासो गरे । यसैबीच सप्तरीको राजविराज नगरपालिका १५ स्थित देउरी भरुवा, रामपुरा र मलहनीयालगायत बाढीपीडित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सो प्रशासन कार्यालयले बाढीपीडित क्षेत्रमा सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा विभिन्न गैरसरकारी संस्था पनि खटाएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

यसैबीच बाढी आएसंगै सप्तरी जिल्लामा नेपाल टेलिकमले वितरण गरेको डिसिएल नेट, मोबाइल र टेलिफोन विगत तीन दिनदेखि अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय पत्रकारलाई समाचार सम्प्रेषणमा समेत समस्या भएको ग्रीण मधेस दैनिकका प्रशासक एवं सम्पादक श्रवणकुमार देवले गुनासो गरे । साथै, सदरमुकाम राजविराजको केही भागलगायत ग्रामीण क्षेत्रमा विद्युत् सेवासमेत ठप्प रहेको बताइएको छ ।

यसैबीच जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले सप्तरीको बाढीपीडितको अवस्था र डुबान र कटानको अवस्था बुझ्न हेलिकप्टरबाट राजविराज आएका छन् । मन्त्रीद्वयले बाढीपीडितको अवस्थाबारे स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जिप्रकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : ३० श्रावण २०७४, सोमबार ००:००