८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो




नुवाकोट
, १९ साउन । काठमाडौँ उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पुर्याएको अवरोध तत्कालका लागी हटेको छ ।

फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध पुर्याएकोमा आगामी आइतबार सम्मका लागि अबरोध नगर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए ।

फोहर फाल्न अवरुद्ध गरिएपछि नुवाकोट र धादिङका अतिप्रभावित क्षेत्रका जनप्रतिनिधि र काठमाडौँ महानगरपालिकाका प्रमुखबीच भएको छलफलमा सहमति भएकाले आज बिहिबार देखि फोहर व्यवस्थापन गर्न सहज भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसंग नुवाकोट ककनी गाउँपालिक वडा नं १, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिकाको वडा नं १ र ३ गरी पाँच वडाका वडाध्यक्षले भेटेर फोहर व्यवस्थापनमा गम्भीर बन्न गरेको आग्रहमा शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

महानगरपालिकाका प्रमुख शाक्यसंग भएको छलफल तथा जनाएको प्रतिबद्धता वडाध्यक्षले स्थानीयवासीलाई जानकारीसहित आज बिहिबार सम्बोधन गरेर आइतबारसम्मका लागि फोहर फाल्ने दिने बताएका छन् ।

फोहर व्यवस्थापन गर्न प्रमुख शाक्यले प्रतिबद्धता जनाएको र आइतबार प्रभावित क्षेत्रमै अवलोकन गर्न आउने बताएपछि तत्कालकाका लागि अवरोध खुलाएको ककनी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाईले जानकारी दिए ।

स्थानीयवासीले अवरोध नगर्ने जनाएपछि काठमाडौँबाट फोहर बोकेका गाडी ओखरपौवामा आउन थालेका छन् । ओखरपौवाको सिसडोलमा फालिँदै आएको उपत्यकाको फोहर विसर्जन पश्चात् माटोले पुर्नुपर्ने र कीटनाशक औषधि छर्कनुपर्ने माग राखेर बुधबार दिनभर फोहर विसर्जनमा अवरोध गरेका थिए ।

तत्कालका लागि फोहर व्यवस्थापनको माग राखे पनि अहिले फोहर फाल्दै आएको स्थान सिसडोलको विकल्पमा प्रस्ताव गरिएको बञ्चरेडाँडामा डम्पिङ क्षेत्र सञ्चालन गर्न महानगरपालिकाको प्रमुखसमक्ष वडाध्यक्षले माग गरेका थिए ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००