Logo

संरक्षण अभावमा बेनी नगरपालिकासहित ५ गाउँपालिकाका ऐतिहासिक सम्पदा संकटमा




ध्रुवसागर शर्मा
, म्याग्दी (बेनी) । बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका ऐतिहासिक सम्पदा संरक्षणको अभावमा संकटमा परेका छन् । ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, चौतारी, पोखरी, पाटीपौवा र धारा कुवाजस्ता सम्पदा संरक्षणको अभावमा संकटमा पर्दै जान थालेका हुन् ।

दलका प्रतिनिधिले तत्कालको सुविधा र पैसा खर्च गर्ने माध्यमका रुपमा सडक निर्माण र स्तरोन्नतिलाई सम्पूर्ण ध्यान दिए पनि सामरिक तथा ऐतिहासिक महत्व रहेका ग्रामीण क्षेत्रमा अवस्थित चौतारी पोखरीको संरक्षणमा भने कुनै पनि दलका प्रतिनिधिको ध्यान पुग्न नसकेको स्थानीयवासीले बताएका छन् ।

गाउँ गाउँमा सडक संजाल विस्तार गर्ने क्रममा कतिपय चौतारी–पोखरी भत्काइएको र भएकाको पनि संरक्षण नगरिँदा ऐतिहासिक र सामरिक महत्व बोकेका दर्जनौँ चौतारी, पोखरी अस्तित्वविहीन बन्दै गएको धौलागिरि गाउँपालिका ताकमका बुद्धिप्रसाद सुवेदीले बताए ।

बाइसे चौबिसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक चौतारी अहिले खण्डहरमा परिणत भएका छन् ।

ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले शत्रुमाथि निगरानी राख्नका लागि बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, गौडालाउने चौतारीलगायत दर्जनौँ चौतारी मर्मतसम्हारको अभावमा जीर्ण बन्दै गइरहेका छन् ।

त्यसैगरी सामरिक र ऐतिहासिक महत्वका ज्यामरुककोटमा अवस्थित खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरी अहिले एकादेशको कथामा परिणत भइसकेका छन् । मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका त्यस्ता स्थलको संरक्षण गर्न सरोकार वाला निकायको ध्यान नपुगेकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

गलेश्वरमा करोडौँको पूर्वाधार

मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित बेनी नगरपालिका– ९ मा पर्ने गलेश्वर शिवालयमा भक्तजनले चढाएको भेटीबापत रु आठ करोडभन्दा बढी रकमबाट विभिन्न भौतिक पूर्वाधार निर्माण गरिएको छ । भेटीबाट देवालय र कालीगण्डकीमा जाने पदमार्ग निर्माण तथा मठमन्दिर मर्मतसुधार गरिएको छ ।

त्यसैगरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनलाई निःशुल्क भोजनको प्रबन्ध पनि भेटीबापतको रकमबाट नै हुने गरेको छ । भौतिक पूर्वाधारतर्फ सभाकक्षसहितको पक्की भवन, अन्नक्षेत्र सञ्चालन, राजा भरत– जडभरत र गलेश्वर बाबाको मूर्ति स्थापना, कामधेनु गाईको प्रतिमा, बाटिका, धर्मशालालगायत पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

“२०६७ सालदेखि गलेश्वर शिवालय क्षेत्र विकास समितिले गलेश्वरमा चढेको भेटीलाई समिति मातहतमा ल्याई व्यवस्थित गर्न थालेको हो । छ वर्षका अवधिमा रु आठ करोडभन्दा बढीको भौतिक पूर्वाधार निर्माण गर्न सफल भयौँ” केसीले भने । भेटी व्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेको बताइएको छ ।

मन्दिर स्थापनादेखि २०६७ सालसम्म मूलमन्दिरमा भक्तजनले चढाएको सुनदेखि नगदसम्म पुजारीको पहुँचमा हुने गर्थ्यो । त्यसपछि मन्दिरमा चढेको भेटी समितिको मातहतमा राख्ने गरिएको हो ।

मन्दिरका मुख्य पुजारीलाई मासिक रु १५ हजार, सहायकलाई १० हजार र सहयोगीलाई रु चार हजार तलब तथा खाना बस्ने व्यवस्था गरिएको छ । “गत वर्षको साउन महिनामा मात्रै रु १३ लाख भेटी संकलन भएको थियो । भेटी मात्रै नियन्त्रण गर्न सकेमा मन्दिरलाई आवश्यकपर्ने सबै पूर्वाधार बनाउन सकिन्छ” गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले भने ।

सुनको सिरानी हालेर नुनको खोजीमा

पर्यटक र जडीबुटीमार्फत जीविकोपार्जन गरिरहेका पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका अन्तर्गतपर्ने मुदीका बासिन्दा आफ्नो गाउँमा जलविद्युत्, पर्यटन र जडीबुटीका प्रशस्तै सम्भावना भए तापनि भौगोलिक विकटता र सरोकार भएका निकायको बेवास्ताका कारण ‘सुनको सिरानी हालेर नुनको खोजीमा’ भौँतारिरहनुपर्ने बाध्यतामा छन् ।

सदरमुकाम बेनीबजारदेखि एक दिनको यात्रापछि पुगिने मुदी गाविसमा संसारकै सातौँ र नेपालको चौथो अग्लो धौलागिरि हिमाल मात्र छैन्, वर्षेनी करोडौँ रुपैयाँ आम्दानी हुन सक्ने जडीबुटी र लाखौँ रुपैयाँ राजस्व संकलन गर्न सकिने पर्यटकीय सम्भावनाका अवसर पनि छन् ।

विसं २०६८ को जनगणनानुसार ५५१ घरधुरी र एक हजार ८०० जनसंख्या रहेको मुदी धौलागिरि गाउँपालिका प्रमुख पर्यटकीय केन्द्र हो । मुदीका बासिन्दाले वर्षेनी मुदीकै चुरेन हिमाल र महिरी वुकीमा गई यार्सागुम्बा संकलन गरेर रु ७० लाखभन्दा बढी भित्र्याउने गरेको जडीबुटी व्यवसायी दलमान पुनले बताए ।

विखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायत जडीबुटी र दुर्लभ मानिएको सेतो ढुंगो पनि मुदीमा प्रशस्तै पाइने र तिनको देश विदेशमा राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने पुनले जानकारी दिए ।

सरोकार भएका निकायको चासो र राजनीतिक दलको सहयोगविना स्थानीयवासीको पहलले मात्र सम्भव नहुने हुँदा मुदीका बासिन्दाले जति फाइदा लिन सक्नुपर्थ्यो त्यसको दुई प्रतिशत पनि लिन नसकेको मुदी बगराका हरि तिलिजाले दुखेसो व्यक्त गरे ।

जडीबुटी व्यवसायी तथा स्थानीय बासिन्दा पुनका अनुसार मुदी क्षेत्रभित्रबाट नै वार्षिक करिब १५ किलो जति यार्सागुम्बा संकलन गर्न सकिने सम्भावना हुँदा हुँदै पनि संकलन गर्ने सीपको अभाव र व्यवस्थित वातावरण नहुँदा अत्यन्त न्यून मात्रमा संकलन हुने गरेको छ ।

मुदी प्रशस्त पर्यटकीय सम्भावना रहेको ठाउँ पनि हो । बेनीदेखि दरबाङ, मुदीबगर धौलागिरि आधार शिविर हुँदै मुस्ताङको मार्फासम्म पुग्ने पदमार्ग निर्माण गर्ने, बाटामा संकेत चिन्ह राख्ने र बीच बीचमा पर्यटक लक्षित स्तरीय होटलको व्यवस्था गर्न सक्ने हो भने धौलागिरि आरोहणका लागि आउने पर्यटकसहित मुस्ताङ जानका लागि वर्षेनी हजारौँ पर्यटक मुदीमा भित्रिन सक्ने बलियो सम्भावना रहेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

त्यसैगरी सडक सञ्जालले नछोएका ठाउँमा गोरेटो बाटो र ठाडा खोलामा पुल निर्माण गर्न नसक्नु पनि पर्यटन विकासका लागि बाधक भएको उपाध्यक्ष छन्त्यालले जानकारी दिए । मुदीको प्राकृतिक सुन्दरता, जैविक विविधता , सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पनि पर्यटकका लागि आकर्षक माध्यम भएको बताउँदै छन्त्यालले भने “तर त्यसको प्रचारप्रसार गरिदिने माध्यम हामीले पाउन सकेका छैनौँ ।”
रासस

प्रतिक्रिया दिनुहोस्