१३ असार, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् ।
जलेश्वर नगरपालिकाका १ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रेको जनाएका छन् । आन्दोलनकारी वडाध्यक्षले प्रमुख रामशंकर मिश्रले आफूहरुको वडाभित्र एउटा चिमसमेत लगाउने अधिकार रहन नदिएको र वडाभित्र विभिन्न कार्यक्रम गर्दा आफूहरुसंग कुनै पनि सोधपुछ वा समन्वय समेत नगरेको आरोप लगाएका छन् ।
उनीहरुले सरुवा भइसकेका र २४ घण्टामा तोकिएको ठाउँमा हाजिर हुने आदेश समेत आइसकेका इञ्जिनियर माधवेन्द्र चौधरीलाई प्रमुख मिश्रले जालझेल गरी झुठो बहुमतबाट जनप्रतिनिधिको निर्णय गरेर रोकिराखेको र उनीमार्फत नगरपालिकामा करोडौँको भष्ट्राचार गराइरहेको आरोप लगाएका छन् ।
जम्मा १२ वटा वडा रहेको जलेश्वर नगरपालिकाको सातजना वडाध्यक्ष आन्दोलनमै रहेको बेला प्रमुख मिश्रले ५ जना वडाध्यक्ष र मनोनीत सदस्यको संख्यालाई बहुमतको संख्या बताउँदै विभिन्न योजनामा करोडौँ रुपैयाँ हिनामिना गरिरहेको आन्दोलनकारी वडाध्यक्षले आरोप लगाएका छन् ।
उनीहरुले सरुवा भइसकेका इञ्जिनियर चौधरीले जलेश्वर नगरपालिका–२ स्थित आफ्नो घरमै नगरपालिकाको सम्पूर्ण आवश्यक फाइल लगेर कामकाज गरिरहेको र आफूहरुले के, कुन काम कहाँ भइरहेको छ त्यसको लागत लगायतका कुरा सोध्दा तपाईको सरोकार नरहेको जस्ता जवाफ दिने गरेको तथा नगरपालिकामा आफूहरुको विरोधमा गुण्डा परिचालन गरेर मेयर तथा इञ्जिनियरले मनोमानी ढंगले नगरपालिकाका करोडौँ रुपैयाँ भ्रष्टाचार गर्न लागेको आरोप लगाएका छन् ।
आन्दोलनकारी वडाध्यक्षले इञ्जिनियर चौधरीलाई तुरुन्त नेपाल सरकारले सरुवा गरेको ठाउँमा नपठाए र मेयरले आफ्नो भ्रष्टाचारी गतिविधि तुरुन्त नरोकेमा सात जना वडायक्षले आउँदो आइतबारदेखि नगरपालिकामा क्रमशः अनसन, रिले अनसन र आमरण अनशनमा बस्ने चेतावनी पनि दिएका छन् ।
रासस




प्रतिक्रिया