६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साइक्लिङ ट्रयाक र सिसाको पुल निर्माण गर्दै सूर्योदय नगरपालिका

कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाकको कामले गति लिएको छ । १२ किलोमिटरको यो ट्रयाक पर्यटन विकासका लागि नमूना हो ।



इलाम । कोशी प्रदेशको अब्बल पर्यटकीय गन्तब्य इलामको सूर्योदय नगरपालिकाका भित्रका स्थानहरुमा हिउँदबर्खा सँधै पर्यटकको भीड लाग्छ ।

प्राकृतिक सुन्दरता र हरियाली चियाबारीमा रमाउन पर्यटकहरु यहाँका पर्यटकीय स्थलहरुमा घुमेर खुबै आनन्द लिन्छन् । पर्यटनका माध्यमबाट नगरपालिकाको आम्दानी बृद्धि हुँदै गएपछि नयाँ सुविधाहरू भित्र्याइरहेको छ । पालिकाले पर्यटनको पूर्वाधार विकासमा लगानी बढाएको छ ।

विभिन्न निकायको साझेदारीमा पालिकाले नयाँ परियोजनाहरुमार्फत काम गरिरहेको छ । डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाक र मानेडाँडामा निर्माणधीन सिसाको पुलको त्यसकै नमूना हो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम नवप्रर्वद्धन साझेदारी कोष (आईपीएफ) सँगको सहकार्यमा परियोजनाका कामलाई पालिकाले तिब्र गतिमा अघि बढाएको छ ।

आपइपीएफका सम्पर्क कर्मचारी सृजन गदाल भन्छन्, “नगपालिकाले आईपीएफ परियोजनामार्फत करिब ११ करोड रुपैयाँ लागतका विभिन्न कामहरू गरिरहेको छ ।

जसअन्तर्गत कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाकको कामले गति लिएको छ । १२ किलोमिटरको यो ट्रयाक पर्यटन विकासका लागि नमूना हो ।

त्यस्तै वडा नम्बर ८ स्थित मानेडाँडामा सीसाको पूल निर्माण गरिरहेका छौं । यस अन्तर्गत अन्य विविध कामहरु भइरहेका छन् ।”

आगामी बर्ष निर्माण सम्पन्न हुने उक्त कार्यक्रममा सार्वजनिक शौचालय सहितको ‘साझा सुविधा केन्द्र’, कोशेली घर, होम स्टे, लेप्चा गुम्बा परिसरमा पार्क निर्माण, माने संरक्षणका साथै सचेतना तालिम भइरहेको गदालले बताए ।

“स्थानीयको जनजीवन उकास्न र पर्यटन पूर्वाधारको कामलाई अघि बढाउँदै सूर्योदय नगरलाई अब्बल पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न यो परियोजन निकै महत्वपूर्ण र आकर्षक मानिएको छ,” गदाल भन्छन्, “यही कार्यक्रममार्फत जैविक मल उत्पादन तालिम, मौलिक खाद्य परिकार, अर्गानिक उत्पादन र होम स्टे तालिम सञ्चालन भइरहेको छ । जसका कारण परियोजना क्षेत्रका नगरबासीलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरेका छौं ।”

हुन त उक्त परियोजनाका लागि आइपीएफले १ करोड ५० लाख रुपैंयाँमात्र विनियोजन गरेको छ । नगरपालिका आफैंले भने करिब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

नगर प्रवक्ता ख्याम भुजेल भन्छन्, “परियोजनाले लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक फेन्सोङ गुम्बाको संरक्षणसहित विभिन्न जातजातिको सांस्कृतिक पहिचान स्थापित गर्न मद्दत गर्नेछ । परियोजनाले समेटेका क्षेत्रका नगरबासीको आर्थिक र सामाजिक उन्नतीमा पनि उत्तिकै भूमिका निर्वाह गर्नेछ ।”

परियोजना अन्तर्गत डुडेगैरामा साझा सुविधा केन्द्र निर्माण हुनेछ । जहाँ १६ वटा सटर बन्नेछन् । उक्त सटहरुमा पर्यटकको सुविधाका लागि स्थानीय उत्पादन विक्री केन्द्रहरु सञ्चालन गरिनेछ ।

हुरहुरे भन्ज्याङमा १ सय ५० मिटरको सिसाको पूल (ग्लास ब्रिज) निर्माण हुनेछ । जहाँ पर्यटकले सशुल्क मनोरन्जन लिन सक्नेछन् । फिक्कलस्थित ऐतिहासिक लेप्चा गुम्बाको व्यवस्थापन गर्दै आउटफिट पार्क निर्माण भइरहेको छ ।

यसैगरि करफोकमा रहेको स्वामी सोमेश्वरनन्दको प्रतिमा हुँदै पूर्णेडाँडासम्म साइकल ट्र्याकलाई अघि बढाउने लक्ष्य छ ।

नगरपालिकाको १४ मध्ये ६ वटा वडामा यही परियोजनाअन्तर्गत विभिन्न विकास निर्माणका काम भइरहेको छ ।

निर्माण सम्पन्न भएपछि परियोजना क्षेत्रमा इन्टरनेट सुविधा विस्तार गर्दै डिजिटल मार्केटिङ साथै वेभसाइटको माध्यमबाट पर्यटकहरुलाई सुविधा दिने तयारी गरेको छ ।

स्थानीयको आर्थिक जीवनस्तर उकास्ने र लोपोन्मुख लेप्चा जनजातिको ऐतिहासिक र सांस्कृतिक पक्षहरूको संरक्षणको लक्ष्य परियोजनाले राखेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००