चन्द्रमणि भट्टराई
भाद्र ३०, काठमाडौं
काठमाडौं । अमेरिकाको भर्जिनिया स्टेटस्थित फेड्रिकवर्ग नगरको निमन्त्रणामा महानगरका प्रमुख शनिबार अमेरिका गएका छन् । प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहितको भ्रमणलाई भदौ २९ गते बसेको मन्त्री परिषद्को वैठकले स्वीकृति दिएको थियो ।
७ दिने भ्रमणका क्रममा नगर—नगर साझेदारीमा पर्यटन, सूचना प्रविधिको उपयोग, शिक्षा, स्वास्थ्य क्षेत्रका लाभ आदान प्रदान गर्ने विषयमा छलफल हुनेछन् ।

भ्रमणका क्रममा फेड्रिकवर्गकी प्रमुख मेरी क्याथरिन ग्रीनलसँग शिष्टाचार भेटघाट हुनेछ भने नगरमा क्षेत्रगत समूहसँग छुट्टाछुट्टै कुराकानी हुनेछ ।
यसरी भेटघाटका लागि तय गरिएका संघ संस्थाहरुमा नेपालबाट अमेरिका गएर काम गरिरहेकाहरुका संघ संस्था र अमेरिकाका स्थानीय संघ संस्थाहरू छन् । उनीहरुसँग छुट्टाछुट्टै कुराकानी हुनेछ ।
भ्रमणमा निस्कनु अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा कुराकानी गर्दै मेयर शाक्यले भ्रमणबाट विकास र जीवन पद्धतिका रोचक पक्षको संयोजनले हुने तथा सहरी समृद्धिमा साझेदारिता बढ्ने विश्वाश व्यक्त गरे ।
काठमाडौं महानगर र फेड्रिकवर्ग नगरवीच गएको बर्ष अर्थात् २०७४ असोज २४ गते भगिनी सम्बन्ध स्थापना भएको थियो । काठमाडौंसँग भगिनी सम्बन्ध स्थापना सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गर्न मेयर मेरी क्याथरिन ग्रीनलको नेतृत्वमा १० सदस्यीय टोली काठमाडौं आएका थिए ।
फेड्रिकवर्ग नगर सांस्कृतिक सहर
संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन वाट ४५ माइल अर्थात् ७२ किलोमिटर दक्षिण र भर्जिनियाको राजधानी रिचमण्डबाट ५८ माइल अर्थात् ९३ किलोमिटर उत्तरमा रहेको फेड्रिकवर्ग कोलोनियल कालखण्डसँग इतिहास जोडिएको स्थान हो ।
अमेरिका, अफ्रिका तथा एशियालगायतका स्थानमा युरोपियन शक्तिको प्रभाव रहेको (१६ देखि २० औं शताव्दी) अवधिमा यो स्थान प्रोमिनियल पोर्टका रुपमा प्रयोग भएको थियो ।
नागरिक अधिकार प्राप्तिका लागि भएको संघर्षका क्रममा पहिलो र दोश्रो पटक फ्रेड्रिकवर्ग युद्ध भएको स्थानलाई अहिले स्पोर्टसलभनिया नेशनल मिलिटरी पार्कका रुपमा संरक्षण गरिएको छ ।
यहाँका मानिसहरु रेल, बस वा कार चढेर वासिङ्टन, रिचमण्डलगायतका क्षेत्रमा काम गर्न जान्छन् । त्यसका अतिरिक्त मेरी वासिङ्टन युनिभर्सिटी, मेरी वासिङ्टन हेल्थकेयर, गभर्नान्स इम्प्लोइ इन्स्योरेन्स कम्पनीलगायतका संघ संस्थामा पनि धेरै मानिसले रोजगारी पाएका छन् ।




प्रतिक्रिया