१० माघ, काठमाडौँ ।
स्थानीय तहको विकासमा राजनीतिक प्रभाव पार्न नदिन नेताहरूको सुझाव छ । जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय परिषद् बैठक उद्घाटनका अबसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह बलियो भएमात्र मुलुकको विकास हुने भएकाले स्थानीय तहलाई बलियो बनाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।
“स्थानीय तहमा विकासका नाममा राजनीतिक प्रभाब भयोभने विकास हुन सक्दैन,” नेपालले भने । स्थानीय तहमा गएको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै उनले भने, “देशको विकासका लागि बजेटको अधिकतम प्रयोग कसरी हुन सक्छ भन्नेबारेमा सबैले सोच्नुपर्छ ।”
नेकपा एमालेका नेता अग्नि खरेलले संविधानले राज्यको संरचनालाई तीन तहमा बाँडफाँड गर्दा जिल्ला समन्वय समिति महासंघलाई स्थानीय तहमा राखिएकाले यसलाई बलियो नबनाई स्थानीय तहको विकास हुन नसक्ने उल्लेख गरे । “तीन तहको निर्वाचनसंगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ, अब मुलुकको विकासमा लाग्नु सबैको दायित्व हो,” उनले भने ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले संविधान मान्दैनौँ भन्ने दललाई समेत निर्वाचनले एक ठाउँमा ल्याएको छ भन्दै जनतालाई लोकतन्त्र आएको अनुभूति दिलाउने गरी महासंघले काम गर्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संविधान कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका भएकाले स्थानीय तह सञ्चालनका लागि चाहिने कानून र नियमावली चाँडो निर्माण गर्नुपर्नेमा जोड दिए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय क्षेत्रमा गएको बजेटको सही सदुपयोग हुनेगरी खर्च गर्न आग्रह गरे ।
महासंघका अध्यक्ष ऋषिराज लम्साल, राज्य पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, महासंघका पूर्व महासचिव डा श्याम भुर्तेलल गायतले स्थानीय तहको विकास नभएसम्म मुलुकको विकास नहुने भन्दै स्थानीय तहमुखी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
रासस

प्रतिक्रिया