७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ




सल्लेरी
, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ भएको छ । भौगोलिकरूपले विकट यस जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा उपचारका लागि स्वाथ्य चौकी आउने बिरामी अन्यत्र धाउनुपर्ने भएको हो ।

लिखुपिके गाउँपालिका–५ स्थित भकाञ्जे स्वास्थ्य चौकी दुईजना एनएमको भरमा चलिरहेको छ । पाँचजना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि तीन जनाको पद रिक्त रहेको र भएका दुईजना पनि कहिलेकाहीँ बिदामा बस्दा आफूहरुले समयमा नै उपचार सेवा पाउन नसकेको त्यस क्षेत्रका नागरिकको गुनासो छ ।

भकाञ्जेका श्यामबहादुर बस्नेतले भने, “स्वास्थ्य चौकीमा उपचार सेवा नपाएको महिनउँ भयो, यहाँ न सिटामोल छ न त स्वास्थ्यकर्मी नै, सम्बधित निकायले जतिसक्दो चाँडो पहल गरिदिनुपर्यो ।”

जिल्लाको डाँडापारिको गाउँपालिकाका रुपमा चिनिने यस क्षेत्रका नागरिक बिरामी परे दुई दिनको पैदल यात्रापछि जिल्ला अस्पताल फाप्लु आउनुपर्ने या रामेछापको बाम्तीभण्डारमा जानुपर्ने बाध्यता छ । लिखुपिके गाउँपालिका–५ की गीता बस्नेत सरोकारवाला निकायले स्वास्थ्यसेवाप्रति देखाएको उदासीनताले आफूहरुले समस्या भोग्नु परेको आरोप लगाउँदै भनिन्, “वर्षासंगै भाइरल ज्वरोको बिरामी बढेका छन् तर चिकित्सक र औषधिको पर्याप्त व्यवस्था भएन भने यहाँका नागरिकले समान्य रोगमा पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।”

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष आङवाङ शेर्पाका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयमा यहाँका स्वास्थ्य समस्या समाधानका लागि जानकारी गराइए पनि सावधान हुन सकेको छैन । अध्यक्ष शेर्पाले भने, “उपचार सेवा प्रभावित भएकै हो यो विषयमा मैले जनस्वास्थ्य प्रमुख मिङ्मार शेर्पालाई जानकारी गराएको छु आशा छ चाँडै समस्या सावधन हुन्छ होला ।” लिखुपिके गाउँपालिकाको मात्र समस्या नभई यहाँका दर्जनौँ स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा समेत विभिन्न तहका दरबन्दी रिक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालय सहित अन्य स्वास्थ्य चौकीमा ४७ कर्मचारीको दरबन्दी रिक्त छ भने सो कार्यालयमा मात्रै १५ जनाको दरबन्दी रहेकामा एक वरिष्ठ जनस्वास्थ्य अधिकृत, एक ल्याब असिसटेन्ट र एक नायब सुब्बाको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा २६ जनाको दरबन्दीमा स्टाफ नर्स एक, ल्याब टेक्निसियन एक र अहेब एक गरी तीन जनाको दरबन्दी रिक्त रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अहेव र दुई अनमिको दरबन्दी हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक सहित १० जनाको दरबन्दी हुन्छ ।

कार्यालयका सूचना अधिकारी पवन लामाका अनुसार ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा रिक्त रहेका दरबन्दी पूर्ति एक वर्षदेखि हुन सकेको छैन । भएका कर्मचारीलाई सरुवा गरी बाहिरी जिल्लामा पठाइदिने तर सरुवा भएको स्थानमा पूर्ति नगरी दिँदा काममा समस्या भएको छ ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७४, बुधबार ००:००