१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा निर्वाचित ६० जना एकल महिला सम्मानित



काठमाडौं २ साउन । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका ६० जना एकल महिला (विधवा) लाई सम्मान गरेको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूह, एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ अभियानअन्तर्गत राजधानीमा आयोजना गरेको कार्यक्रममा ती जनप्रतिनिधीलाई सम्मान गरेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मान गरेका थिए । कार्यक्रममा ६० मध्ये ४४ जनप्रतिनिधिको उपस्थिति थियो । सम्मानित हुनेहरुमा जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख कान्तिका सेजुवाल, काभ्रेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, बाजुराको जिल्ला समन्वय समितिका सदस्य राधिका सुनारलगायत विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य छन् ।

तस्बिरः रासस

उपराष्ट्रपति पुनले निर्वाचनका कारण व्यापक राजनीतिक जागरण सिर्जना भई महिला जनताको सेवा गर्ने ठाउँमा पुग्न सफल भएको बताए । उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सरकार र जनप्रतिनिधि र अधिकारकर्मीको सामूहिक प्रयास जारी रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समूहका संस्थापक अध्यक्ष लिली थापालाई भारतको ‘दयावती मोदी स्त्री शक्ति अवार्ड’ प्रदान गरिएको थियो । सम्मेलनमा दक्षिण एसियाका महिलाको मानवअधिकार, गरिबी निवारण, राजनीतिक सशक्तीकरण, शान्ति निर्माण र विकासका कार्यमा एकल महिलाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल हुने एकल महिला समूहका अध्यक्ष निर्मला शर्मा ढुंगानाले जानकारी दिइन् । रासस

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार ००:००