१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

लेखक स्थानीय खबर २३ असार २०७४, शुक्रबार २ मिनेट पढाइ

गाईघाट (उदयपुर) । गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा एमालेका प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार देवी चौधरी ११ हजार ३२२ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गीता रेग्मीले ११ हजार २७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताए ।

यस्तै, जिल्लाको बेलका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् । बेलकाको प्रमुखमा एमालेका दुर्गाकुमार थापा पाँच हजार ८१८ मत प्राप्त गरेर विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै राजकुमारी चौधरीले ६ हजार १३१ मत प्राप्त गरेर विजय भएको निर्वाचन अधिकृत हरि पोखरेलले बताए ।

प्रमुख पदमा थापाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक कार्की पाँच हजार २६६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा पनि नेपाली कांग्रेसकी दीपा राईले पाँच हजार २८६ मत प्राप्त गरेकी छन् । उदयपुर जिल्लाको आठ स्थानीय तहमा चार नगरपालिका र चार गाउँपालिकामध्ये अब नेकपा एमालेले जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका गरेर ६ स्थानीय तहको प्रमुख पदमा विजय हासिल गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले जिल्लाको चौदण्डी नगरपालिकामा मात्र विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले जिल्लाको सुनकोसी गाउँपालिकामा विजय हासिल गरेको छ । अब उदयपुरको आठवटा नै स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना कार्यसमेत सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ । रासस

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।