७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामको चुनावी सभामा केन्द्रीय नेताहरू नै खटिए



इलाम । स्थानीय तहको निर्वाचन हुने दिन आउन चार दिन बाँकी छँदा इलाममा चुनावी माहोल ह्वात्तै बढेको छ । राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा गाउँ–गाउँ पसेका छन् । गाउँ पुगेर उनीहरूले नागरिकलाई चुनावबारे जानकारी गराउँदै आफ्नो पक्षमा मत माग्न थालेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ एक साता अघिदेखि नै विभिन्न गाउँपालिका र नगरपालिकाको चुनावी सभामा व्यस्त छन् । उनीहरूले पार्टीका स्थानीय नेता–कार्यकर्तासँग बाक्लो भेटघाट गर्दै पार्टीका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरिरहेका छन् ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका वरिष्ठ नेता इलाम क्षेत्र नं. १ बाट र एमालेकै अर्का नेता नेम्वाङ निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए । दुवै नेताले चुनावी गतिविधिलाई तिव्रता दिएका छन् । चुनावमा भाग लिन नागरिकलाई आग्रह गर्दै पार्टीको जिल्लादेखि नगर, गाउँ र वडा कमिटी सबैलाई परिचालन गरिएको एमाले जिल्ला सचिव महेश बस्नेतले बताए ।

यसैगरी नेपाली काँग्रेसका जिल्ला तहका नेता–कार्यकर्ता यतिबेला चुनावी चटारो लिएर गाउँ पुगेका छन् । जिल्ला सभापति तथा इलाम नगरपालिकाका प्रमुखका उम्मेदवार हिमालय कर्माचार्यसहितका नेता–कार्यकर्ता गाउँ–गाउँ पुगेर मतदातासँग साक्षात्कार गरिरहेको कांग्रेस जिल्ला सचिव निरोज खड्गीले बताए ।

कांग्रेस युवा नेता गगन थापाले पनि इलाममा भइरहेका पार्टीको चुनावी प्रशिक्षण तथा चुनावी सभामा सक्रिय सहभागिता जनाउँदै आएका छन् । उनले इलामको देउमाई, इलाम र माइनगरपालिकाका चुनावी सभालाई संवोधन गरिसकेका छन् । २०७० सालको संविधानसभा चुनावमा नेपाली कांग्रेसबाट क्षेत्र नं. ३ का विजयी भएका केशव थापा पनि गाउँ–गाउँ पुगिरहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन गाउँ–नगरका मतदाताको घरदैलोमा पुगेर मत माग्ने गरेको सांसद थापाले बताए । माओवादी केन्द्रले पनि इलाममा चुनावी तयारी तीव्र पारेको छ । माओवादीले जिल्लाका सबै तहका भातृ सङ्घ–सङ्गठनलाई स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी गतिविधि अघि बढाउन निर्देशन दिएको जिल्ला इन्चार्ज धीरेन्द्र शर्माले बताए ।

जिल्लाका अरू राजनीतिक दलहरू पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । प्रमुख दलसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय समाजवादी फोरम नेपाललगायत १७ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलाममा ९९ हजार २०७ पुरूष, ९४ हजार ३३९ महिला र दुई जना तेस्रो लिङ्गी गरी कुल एक लाख ८९ हजार २७४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले बताए । रासस

प्रकाशित मिति : १० असार २०७४, शनिबार ००:००