१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ताले लोपोन्मुख हायु जातिको फेरियो जीवन



काभ्रे । रोशी गाउँपालिकाको वडा नं. १० मा हायु जातिको बसोबास छ । हायुलाई सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेर प्रतिव्यक्ति ३ हजार ९९० रुपैयाँ मासिक भत्ता दिँदै आएको छ ।

भत्ता पाइरहेका ११ परिवारमा ७५ जना सदस्य छन् । वडा नं. १० का सचिव तोरण रानाका अनुसार एक परिवारमा १० जना सदस्य छन् । त्यस परिवारले मासिक ३९ हजार ९ सय रुपैयाँ भत्ता पाउँदै आएका छन् । त्यस परिवारले बार्षिक ४ लाख ७८ हजार ८०० रुपैयाँ भत्ता पाउँदै आएका छन् । एक परिवार भने भारतमा बस्छन् । भत्ता लिन उनीहरू गाउँमै आइपुग्छन् ।

भत्ताले हायु जातिको जिवनयापन सहज मात्र भएको छैन । सन्तानको शिक्षा, स्वास्थ्य र रोजगारमा पनि उल्लेख्य प्रगति भएको छ । यसले गर्दा सामाजिक सुरक्षा भत्ता बरदान सावित भएको छ ।

भत्ताबापत पाउने रकमबाट सुरबहादुर हायुले दुई छोरीलाई नर्सिङ पढाए । अहिले एउटी छोरी बिमला हायु रोशी गाउँपालिकाको वडा नं. १२ को शिखरपुरमा विद्यालय नर्स छिन् । अर्की छोरी हिमकला हायु छिमेकी महाभारत गाउँपालिकाको ग्रामोन्नती माविमा नर्स छिन् । जागिर र भत्ताबाट प्राप्त रकमले जिवनयापन धेरै सहज भएको उनीहरू बताउँछन् ।

वडा नं. १० की सुष्मा हायुले पनि भत्ता पाउँदै आएकी छन् । उनीकी बहिनी मुना हायु पञ्चकन्या माविको प्राथमिक तहमा अध्यापन गराउँछिन् । सुष्मा र मुनाको परिवारमा ८ जना सदस्य छन् । उनीहरू सबैले भत्ता पाउँदै आएका छन् ।

अर्का दुधराज हायु विद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत छन् । ७ जना सदस्य रहेको उनको परिवारमा सन्तानहरू उच्च माध्यामिक तहमा पढिरहेका छन् ।

यसैगरि हरिबहादुर हायुकी छोरी सुस्मिता हायु स्नातक तहमा अध्ययन गरिरहेकी छन् । भत्ताले व्यक्तिगत जिवनयापन गर्न र सन्तानलाई शिक्षा दिन सहज भएको हरिबहादुरले बताए ।

हायु जातिका सबै बालबालिका विद्यालय जान थालेका छन् । एक दशक अघिसम्म विपन्न हायु जातिको जिवनयापन, शिक्षा, स्वास्थ्य अहिले उन्नत बनेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार हायुसहित कुसुन्डा, बनकरिया, राउटे, सुरेल, राजी, किसान, लेप्चा, मेचे, कुसबडिया, पथ्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधिया जातिलाई लोपोन्मुख आदिवासी जनजातिमा सूचिकृत गरि प्रत्येक नागरिकलाई भत्ता दिँदै आएको छ ।

विभागका निर्देश लक्ष्मण ढकालले भत्ताले समग्र लोपोन्मुख जातिहरूको जिवन फेरिएको बताए ।

रोशी गाउँपालिकामा ७४ जना हायुसहित ३ हजार २३७ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

गाउँपालिकाका सामाजिक सुरक्षा सम्वन्धी कार्यक्रमका फोकल पर्सन चन्द्र पाख्रिनले प्रत्येक तीन–तीन महिनामा लाभग्राहीहरूको बिबरण अद्यावधिक गरिरहेको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार ००:००