१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ गाउँपालिकामा अझै बैंक पुगेन, मुख्य कारण केन्द्र विवाद र असुरक्षा



काठमाडौं । सरकारले अघिल्ला बर्षहरूमै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने लक्ष्य राखे पनि अहिले पनि ३ वटा गाउँपालिकामा बैंक पुगेको छैन ।

जाजरकोटको जुनीचाँदे, धादिङको रुबीभ्याली र बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले ती गाउँपालिकाहरूमा बैंकको शाखा स्थापना गर्न नसकेको बताए । भट्टका अनुसार रुबीभ्याली र साइपाल गाउँपालिका अति दुर्गम भएकाले सुरक्षाको कारण बैंक पु¥याउन नसकिएको हो । यसैगरि जुनीचाँदेमा केन्द्र विवाद छ ।

“आर्थिक वर्ष ०७४÷७५ देखि नै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने राष्ट्र बैंकको लक्ष्य थियो,” भट्टले भने, “अहिलेसम्म ७ सय ५० वटा स्थानीय तहमा बैंक पुगिसकेको छ । केन्द्र विवाद र असुरक्षाका कारण ३ वटा स्थानीय तहमा पुग्न बाँकी छ ।”

यसैगरि जुनीचाँदे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत गणेशबहादुर बस्नेतले केन्द्र विवादका कारण बैंक स्थापना गर्न नसकिएको बताए ।

“कृषी विकास बैंकले शाखा स्थापना गर्न केही सामाग्री पनि ल्याएको थियो । तर गाउँपालिकाको केन्द्र विवादका कारण कार्यालय कुन ठाउँमा राख्ने भनेर विवाद भयो,” बस्नेतले भने, “केन्द्रसम्बन्धि विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अहिले पनि गाउँपालिकाको सबै कारोबार सदरमुकामको बैंकबाट भइरहेको छ ।”

सबै गाउँपालिकामा बैंक नपुग्दा सामाजिक सुरक्षा भत्ता बैंकबाट बाँड्ने संघीय सरकारको लक्ष्यसमेत प्रभावित भएको छ । बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका नागरिकलाई दिने यस भत्ता गत मंसिरदेखि देशभरका सबै स्थानीय तहमा बैंकबाट बाँड्ने लक्ष्य थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार ००:००