३० भाद्र २०८१, आइतबार | Sun Sep 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना



काठमाडौँ, राष्ट्रिय महिला आयोगले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी ‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना गरेको छ ।

निर्वाचन आयोगको निर्देशनमा स्थापना गरिएको सो समितिले यही वैशाख ३१ गते तथा जेठ ३१ गते हुने सो निर्वाचनमा लैङ्गिक विभेद भए नभएको अनुगमन गर्नेछ ।

आयोगका कर्मचारी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिई पहिलो चरणमा हुने ३४ जिल्लाका २४४ मतदान केन्द्र तथा त्यसपछि हुने दोस्रो चरणको निर्वाचनमा बाँकी रहेका मतदान केन्द्रमा खटाउने महिला आयोगका सचिव तुलसीराम सेढाईंले जानकारी दिए ।

देशभर ७४४ मतदान केन्द्र तोकिएको छ । करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन तथा संविधानमा व्यवस्था गरिएअनुसारका पदमा महिला सहभागिताको भए नभएको समेत सो समितिले अध्ययन गर्नेछ ।

देशभर निर्वाचन सम्पन्न भएपछि अनुगमन गर्दा प्राप्त भएको प्रतिवेदन अभिलेख गरी निर्वाचन आयोगमा पठाइने नवगठित समितिका सदस्यसचिव यमेन्द्र उपाध्यायले बताए ।

यसैबीच सोही सचिवालयले करिब १५० लैङ्गिक अनुगमनकर्तालाई सोमबार निर्वाचनमा अनुगमन गर्दा निष्पक्ष भूमिका निर्वाह गराउने उद्देश्यले अनुशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ । सो कार्यक्रममा मतदाता शिक्षाका साथै अनुगमनकर्ताले पालना गर्नुपर्ने आचारसंहितासमेत सिकाइएको छ ।

अनुगमन गर्न जाने संघसंस्थाका प्रतिनिधिले मतदान गर्ने केन्द्रबाहेकका स्थानमा मात्र अनुगमन गर्न पाइनेछ । आवश्यक भएमा निर्वाचन पूर्वमतदातालाई निष्पक्षताका साथ मतदानका बारेमा जानकारी दिने तथा बुझाउन निर्देशन दिइएको छ । रासस

प्रकाशित मिति : २५ बैशाख २०७४, सोमबार ००:००