४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निस्दी गाउँपालिकाको मौलाथरमा खानेपानीको समस्या



मङ्सिर २५, बेझाड । पाल्पा निस्दी गाउँपालिका ४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहुँदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् ।

बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । बाउबाजेको पालादेखि नै घण्टौँ समय लगाएर पानी बोक्ने समस्या अहिलेसम्म उस्तै रहेको मौलाथरका उदयराम सोती बताउछन् ।

“बिहान उठेपछि सबै काम छाडेर पानी खोज्न जाने हो, पल्लो गाउँमा रहेको कुवा, धारामा पानी लिन जानेको ठूलो भीड हुन्छ, पालो पर्खेर बस्दा बिहान बित्दछ,” सोतीले भने । जनसङ्ख्या धेरै तर पानीको स्रोत कम हुँदा लामो समयसम्म पालो पर्खेर बस्नुपरेको उनको भनाइ छ ।

वर्षौदेखि यहाँ खानेपानीको चरम समस्या छ, तर अहिलेसम्म यो समस्या समाधान हुनसकेको छैन । मौलाथर गाउँमा ४२ घरधुरीका करीब ३५० जना बसोबास गर्ने गरेको स्थानीयवासी रुमबहादुर रानाले बताए । “जनसङ्ख्या बढ्दै गएको छ, खानेपानीका मुहान सुक्दैछन्, खानेपानीका साथै गाईभैँसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाह्रो छ,” उनले भने ।

चुनावका बेला गाउँमा पुगेका नेताले खानेपानी ल्याइदिने आश्वासन देखाउँदै जनतासँग भोट माग्ने गर्छन् तर चुनाव जितेपछि गाउँको विकासमा ध्यान नदिएको रानाको गुनासो छ ।

मौलाथरवासीलाई टाढाबाट पानी बोकेर जीविका चलाउन निकै कठिन छ । “समयमा नै छोराछोरीलाई स्कूल पठाउनुपर्ने, घरायसी कामधन्दा पनि सक्नैप¥यो, पानीको सुविधा नहुँदा जीविका चलाउन गाह्रो परेको छ, चुनाव आउँदैपिच्छे राजनीतिक दलका नेता तथा उम्मेदवारले पानी ल्याइदिन्छौँ, भोट देऊ भन्छन् तर चुनाव जितेपछि उनीहरु गाउँ फर्कदैनन्,” स्थानीयवासी ऋषिमाया खन्गाहा भन्छन् ।

यहाँका स्थानीयवासीले बस्तीदेखि लगभग दुई किमी पर रहेको रिपादी धारा र माग्दी गैराबाट पानी उपभोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधान भएको खण्डमा यहाँका स्थानीयवासीले तरकारी, अन्नबाली, फलफूल लगाएर आम्दानी पनि गर्न सक्ने प्रशस्त सम्भावना छ । खानेपानी लिफ्टिङको योजना यो गाउँमा यसै वर्ष परे पनि काम भने शुरु हुन सकेको छैन । रासस

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार ००:००