१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पपीडित भन्छन्ः ‘गुनासो भरेको अर्थ भएन’



 

मङ्सिर १२, नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका ५ महाकालीका पूर्णबहादुर थापाको भूकम्पले गाउँमा भएका पाँच वटा घर भत्किए । सरकारले पठाएको प्राविधिकलाई सबै घर देखाए । जति घर भत्केपछि एउटा मात्र बनाउन सरकारले अनुदान दिन्छ भन्ने सुनेका उनले एउटा घरको तस्बीर खिचाए । अरु घर देखाएनन् । तर उनको नाम लाभग्राहीको सूचीमा परेन ।

लाभग्राहीको सूचीमा नाम नपरेपछि उनले पटक पटक गुनासो गर्दासमेत नाम आएन । शिवपुरी गाउँपालिका ५ सिलामेस्थित वडा कार्यालयमा वडाध्यक्षसँग गुनासो गर्न आएका उनले, भने, “तीनचोटी गुनासो भर्नुभयो । मेरो नाम आएन । किन आएन ?”

यस्तो समस्या पूर्णबहादुर थापाको मात्र होइन, अर्का भूकम्पपीडित नेत्रबहादुर थापाको पनि पीडा उस्तै छ । उनले पनि तीनचोटी गुनासो भरिसकेका छन् । वडाध्यक्षलाई पटकपटक भेटिसके । गाउँपालिका अध्यक्षलाई पनि भेटिसके । तर, समस्या सुनुवाइ भएको छैन । उनले भने, “सरकारको कुन निकायमा गए हाम्रो घर भूकम्पले भत्केको सरकारले देख्छ । हामी अनुदान पाउने सूचीमा पर्छौं ?”

साविकको महाकाली गाविस हाल शिवपुरी–५ का १९ घरको नाम पटकपटक गुनासो भर्दा पनि छुटेको वडाध्यक्ष सीताराम थापा बताउछन् । “केहीको दुईतिर घर भनेर आएको छ । तर दुवैतिरको घर भत्केको छ । लाभग्राहीमा भने नाम आएन,” उनले भने, “भूकम्पबाट भत्किएको लगत सङ्कलन गर्न आएका प्राविधिकको गल्तीले अहिले पनि पीडित झनै पीडित बनेका छन् ।”

उक्त वडामा भूकम्पलगत्तै सरकारी मापदण्ड आउनुअघि नै बनेका १२४ घरको पनि समस्या रहेको वडा अध्यक्ष थापाले बताए । भूकम्पलगत्तै बासको अभाव भएपछि रामशरण भण्डारीले पनि प्राविधिकको सल्लाहमा सरकारी मापदण्ड आउनुअघि नै एकतले घर बनाए । तर उनले पहिलो किस्तामात्र पाए । दोस्रो भने मापदण्ड नपुगेकाले पाउन सकेनन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाईका इञ्जिनीयर आदित्य झाले यहाँका केही वास्तविक पीडितको गुनासो सुनुवाइ नभएको बताए । वडा सचिव पदमबहादुर थापाका अनुसार पहिलो चरणमा ९४५ जनाको नाम लाभग्राहीको सूचीमा परेको थियो । गुनासो भरेकामध्ये २२२ को सम्बोधन भएर लाभग्राहीको सूचीमा परेको छ । वडाका ५५७ घर पुनःनिर्माण सम्पन्न भई तेस्रो किस्तासमेत प्राप्त गरेको सचिव थापाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ००:००