१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकट गाउँमा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा



 

मङ्सिर ८, पर्वत । यहाँको एक विकट गाउँमा जिल्लाकै ठूलो लिफ्ट प्रविधिको खानेपानी योजना सम्पन्न भएको छ । दक्षिण पर्वतको महाशीला गाउँपालिका १ होश्राङ्दीमा वृहत लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य पूरा भई सञ्चालनमा आएको हो ।

नेपाल सरकार र फिनल्याण्ड सरकार तथा महाशीला गाउँपालिकाको सहयोगमा एक करोड ७७ लाख लागतमा विगत तीन वर्षदेखि निर्माण शुरु भएको आयोजनाको काम पूरा भएपछि आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

उक्त आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासीले ४२ लाख बराबरको जनश्रमदान गरेका छन् । प्रत्येक घरधुरीले ९० दिनभन्दा पनि श्रमदान गरेका हुन् । खानेपानीको अभावका कारण एक गाग्री पानी लिनका लागि २ घण्टासम्म पैदल हिँडेका यहाँका बासिन्दाले ९० दिनसम्म श्रमदान गरेर घरघरमै पानी ल्याउन सफल भएका हुन् ।

उक्त आयोजनाबाट स्थानीय ८७ घरमा एक घर, एक धारा र एक स्कूल लाभान्वित बनेका छन् । दैनिक करीब २ घण्टा गाग्रीमा पानी बोकेर दैनिकी चलाउँदै आएका होस्राङ्दीको जमपुर, गढी र पयौंकोटवासी खानेपानी आयोजना सञ्चालनमा आएपछि ठूलो राहत पाएका छन् । पश्चिम नेपाल खानेपानी योजना अन्तर्गत दोस्रो चरणमा सञ्चालित यस आयोजना नेपाल सरकार र फिन्लयाण्ड सरकारको सहयोगमा सञ्चालनमा आएको हो ।

महाशीला वडा नं १ का अध्यक्ष तथा खानेपानी उपभोक्ता समितिका समेत अध्यक्ष रहेका ईश्वरी भूषालका अनुसार पानीको अभावमा वर्षौदेखि काकाकूलको नियति भोग्न बाध्य होश्राङ्दीवासीलाई ठूलो राहत मिलेको छ । उनले अब स्थानीयको दैनिकी नै परिवर्तन हुने पनि बताए ।

आयोजना अन्तर्गत दुई वटा भण्डारण ट्याङ्की निर्माण गरिएको छ । बस्तीभन्दा ९०० मिटर तल रहेको कालिगहिँरा मुहानबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी घरघरमा बितरण गरिएको हो ।

विद्युतीय माध्यमाबाट चल्ने उक्त आयोजनामा उपभोक्ताले पानी खपत गरेबापत धारामा जडान गरिएको मिटरमा उठेको रकम भुक्तान गर्नुपर्ने हुन्छ । घण्टौं लागेर मुहानसम्म पुगेर पानी बोकेर खानुपर्ने उक्त ठाउँका बासीन्दाको समस्या उक्त आयोजनाले अन्त्य गरेको अध्यक्ष भुषालले जानकारी दिए । यसअघि पर्वत जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा पहिलोपटक गत वर्षदेखि लिफ्ट खानेपानी सञ्चालनमा आइसकेको छ ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका होश्राङ्दीबासीले लिफ्टमार्फत खानेपानी प्राप्त गर्नु खुसीको कुरा भएको बताए । उनले सिँचाइमा सहुलियत हुने विद्युत् महशुल खानेपानीमा पनि सहुलियत दिन सरकारसंग आग्रह गर्ने बताए ।

उनले सफा पानी प्रयोगपछि पुनः करेसाबारीको सिँचाइमा प्रयोग गर्नुपर्ने र आम्दानी गरेर खानेपानी र बिजुलीको महशुल तिर्न सकिने सुझाव दिए । उनले पोखरा–सेतीवेनी सडकलाई कालोपत्र गर्न र सो सडकलाई पर्यटकीय साइकल रुट बनाउनुपर्ने दोहो¥याए । साथै पर्वतका मुख्य सडक अबको पाँच वर्षमा कालोपत्रे हुने समेत उनले बताए ।
रासस

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार ००:००