१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२६ वर्षपछि गाउँमा विजुली



 

कात्तिक २७, दार्चुला । महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् ।

गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो । सो विद्युत्बाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले विजुली बाल्न पाएका थिएनन् ।

वरपरका गाउँमा यसअघि नै विजुली बलेको थियो । साहुले २०४९ सालमा विद्युतीकरणका लागि तीन पोल गाउँमा पु¥याएका थिए । गाउँमा पोल पु¥याए पनि विजुली बाल्न भने सकिएको थिएन ।

“ठेक्का भयो, छिमेकी गाउँमा विजुली बल्यो, नजिकैको मूल्लामा विजुली बाल्न सकिएन,” साहुले भने । छिमेकी गाउँका बासिन्दाले विजुली बालेको हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो । अहिले गाउँलेले नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रबाट आफैँले छ पोलमा साढे चार किलोमिटर लामो तार तानेर गाउँमा विजुली बालेका छन् । पूर्व वडाध्यक्ष प्रेमसिंह साहु सामान ढुवानी बापतको रकम आफैले तिरेको बताउछन् ।

मैखौलीमा डेढ महीनाअघि विद्युत् पुग्यो । मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए । अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन् । स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन् ।

महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले हालै गाउँमा विजुली बत्तिको उद्घाटन गरे । महाकाली नगरपालिका–२ का बासिन्दाले यसै वर्षदेखि टेलिफोन सेवा समेत पाएका छन् ।

जिल्लामा २०६४ सालमै अधिकांश क्षेत्रमा मोबाइल फोन सेवा विस्तार भएको थियो । नगर प्रमुख भट्टले छिट्टै सो बस्तीलाई सडक सञ्जालसंग जोड्ने बताए ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार ००:००