कात्तिक २२, बेझाड– पाल्पा । बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका सिलुवा माथिल्लोथरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् ।
वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य पूर्वखोला गाउँपालिका १ स्थित उक्त स्थानका बासिन्दालाई बिहान उठेपछि अरु कामकाज भन्दा खानेपानीको जोहो गर्नुपर्दा निकै पिरलो हुन्थ्यो तर अहिले घरघरमा जडान गरिएका धारामा पानी आएको देख्दा उनीहरू दङ्ग भएका हुन् ।
खानेपानीका लागि निकै समस्या झेल्दै आएका उनीहरूको अथक प्रयास र मेहनतपछि खानेपानी तथा सरसफाइ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पु¥याइएको छ ।
बिहान झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारी हिस्की बताउछिन् । “बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने बाध्यता हुन्थ्यो, अहिले त घरमै धारा जडान छ, जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्नमै घण्टौँ समय खर्चनुपर्थ्यो तर अहिले त्यो समय अन्यत्र कामकाजमा लगाउन पाएका छौँ” उनले भनिन् ।
उक्त आयोजनामार्फत यहाँका ६० घरधुरीमा गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको छ । सो आयोजनाका लागि २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरी ४९ वटा धारा घरघरमा जडान भइसकेको छ ।
नेपाल सरकारको ४२ लाख अनुदान र स्थानीयवासीको जनश्रमदान ११ लाख गरी ५३ लाख बराबरको लागतमा सो आयोजना सम्पन्न भएको संयोजक मानबहादुर बयम्बु बताउछन् ।
रासस




प्रतिक्रिया