४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिघाफेँदीको कुमाल बस्तीमा ‘लिफ्ट’ बाट खानेपानी



 

२८ जेठ, बागलुङ । गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पु¥याएको छ ।

तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो । रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पानीको स्रोत बस्तीदेखि तल हुँदा स्थानीयवासी खानेपानीको सहज पहुँचबाट वञ्चित थिए । धेरै समय खर्चेर र पालो कुरेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष रिमबहादुर राना कुमालले बताए । “खानेपानीका लागि ठूलो दुःख थियो” उनले भने, “आयोजना बनेपछि गाउँले खुशी छन् ।”

गलकोट नगरपालिकाको दुई लाख र उपभोक्ताको चन्दा तथा श्रमदानबाट डेढ लाख गरी कूल तीन लाख ५० हजारको लागतमा आयोजना बनेको हो । पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिले पनि १० हजार चन्दा सहयोग गरेको थियो ।

मूलबाट तानेको पानीलाई जम्मा गर्न १९ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । कुमाल बस्तीमा चौबीसै घण्टा खानेपानीको सुविधा पुगेको वडाध्यक्ष डम्बर श्रीसले बताए । आयोजना निर्माणका लागि वडा तहबाटै योजना सिफारिस भएको थियो । “वडाले समस्या पहिचान गरी तत्काल आयोजना बनाउन पहल गरेको हो” अध्यक्ष श्रीसले भने ।

नगरपालिका, वडा र उपभोक्ताको संयुक्त लगानी र पहलमा आयोजना सम्पन्न भएको हो । खानेपानी पुगेसंगै स्थानीयवासीलाई अन्य आयआर्जनका गतिविधिमा जोड्ने योजना रहेको वडाध्यक्ष श्रीसले बताए ।

बस्तीदेखि तल श्रोत भएका ठाउँमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना प्रभावकारी देखिएको छ । जिल्लाका अन्य ठाउँमा पनि यस्ता आयोजनाबाट खानेपानीको सुविधा पु¥याइएको छ ।
रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार ००:००