१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्



बाबियाचौर (म्याग्दी), ७ वैशाख । म्याग्दीका वृद्धवृद्धाले चालु आवको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।

चार महिनामा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता निकासा हुन ढिलाइ हुँदा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । माघमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिका बाहेक स्थानीय निकायमा निकासा हुन सकेको छैन ।

भत्ता रकम समयमा नपाएका कारण वृद्धवृद्धाले गाउँपालिकाको वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । स्थानीय तहको पुनःसंरचना अनुसार जिल्ला समन्वय समिति र गाउँपालिकाको खाता सञ्चालन गर्न ढिलाइ गर्दा लक्षित समुदाय सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

माघ १५ भित्र वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता तत्कालीन जिल्ला विकास समितिको ढिलासुस्तीका कारण अहिलेसम्म पाउन नसकेको ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई अघि बढाउन र आसन्न निर्वाचनमा मतदान केन्द्रलाई ज्येष्ठ नागरिकमैत्री बनाउन समाजले सम्बन्धित निकायसँग माग गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका सचिव कुलप्रसाद आचार्यले पुनःसंरचना र नयाँ खाता सञ्चालनमा भएको ढिलाइले सामाजिक सुरक्षा भत्ता वितरण, विकास योजना र कार्यक्रमको रकम भुक्तानीको काम प्रभावित भएको बताए ।

जिल्ला समन्वय समितिका सामाजिक सुरक्षा भत्तासम्बन्धी फोकल पर्सन राजेन्द्र आचार्यले साविकको गाविस कार्यालयको खातामा सामाजिक सुरक्षा भत्ताको रकम पठाउने तयारी भएको अवस्थामा रघुगंगा र धौलागिरि गाउँपालिका नागरिक आन्दोलन संघर्षा समितिबाट तालाबन्दी भएपछि रोकिएको काम खाता परिवर्तनमा ढिलाइ हुँदा प्रभावित बनेको बताउछन् ।

जिल्ला समन्वय समितिको नयाँ संरचनाअनुसार खाता सञ्चालन भएको र गाउँपालिकाको खाता सञ्चालन भएपछि अबको केही दिनमै रकम पठाइने आचार्यले बताए । दोस्रो चौमासिकको करिब रु सात करोड सामाजिक सुरक्षा भत्ता वितरण हुँदैछ ।

७४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या २३ हजार ३४४ जना रहेको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, (क) र (ख) वर्गका अपाङ्ग र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । रासस

प्रकाशित मिति : ७ बैशाख २०७४, बिहिबार ००:००