२९ वैशाख, पोखरा ।
पुस्तौँदेखि एक गाग्री पानीका लागि एक घण्टाको समय लगाएर खानेपानीको दुःख भोग्दै आएका दोपहरे र बयलीका बासिन्दा यतिखेर घरघरमा धारा आउने भएपछि हर्षित भएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका २१ मा पर्ने सो स्थानमा दुई करोड ८० लाखको लागतमा चाँचल थामकोडाँडा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाका मुहारमा खुशीयाली छाएको हो ।
नेपाल सरकार, क्षेत्रीय खानेपानी अनुगमन कार्यालयको ९० र स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा सो खानेपानी योजना सम्पन्न भएको चाँचल थामकोडाँडा लिफ्टिङ खानेपानी आयोजनाका सदस्य कमल भुजेलले जानकारी दिए ।
उनका अनुसार बस्तीको तल्लो भागस्थित चाँचल र कालामुडाबाट छुट्टाछुट्टै दुई मूलबाट लगभग तीन किलोमिटरको दूरीदेखि लिफ्टिङमार्फत थामडाँडामा संकलन गरिएको खानेपानी दुई इञ्चीको पोलिथिन पाइपबाट टोलटोलमा एक एक धारा पु¥याइएको छ ।
थापडाँडामा आएको पानी सीधै पाइपमा जडान गरी दुवै गाउँका २२३ घरधुरीमा एक घर एक धाराको जडान गर्ने अभियान भए पनि अर्थाभावका कारण पानी संकलन ट्यांकी निर्माणमा ढिलाइ भएकाले दुवै गाउँका १० टोलमा १० धारा जडान गरी अस्थायी रुपमा उपभोक्तालाई खानेपानीको सुविधा पु¥याइएको उनी बताउछन् ।
रासस
प्रतिक्रिया