१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्



रामचन्द्र न्यौपाने
२१ वैशाख, त्रिपुराकोट– डोल्पा ।
सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागि सक्दा समेत डोल्पाका जेष्ठ नागरिकले अझै पाउन सकेका छैनन् ।

पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता फागुनको पहिलो साता र तेस्रो किस्ता असारको पहिलो सातामा भत्ता रकम बुझ्दै आएका उनीहरु चालु आवको तेस्रो किस्ता लागि सक्दासमेत नपाएपछि निराश भएका छन् ।

सरकारले यस जिल्लाका ७० वर्ष पुगेका वृद्धवृद्धा नागरिकलाई प्रतिमहिना २ हजारका दरले वर्षमा चौबीस हजार, ६० वर्ष उमेर पुगेका नागरिकलाई प्रति महिना एक हजारका दरले वर्षमा बाह्र हजार, एकल महिला, जनजाति र दलितका जेष्ठ नागरिकलाई प्रतिमहिना एक हजारका दरले वार्षिक बाह्र हजार, अपाङ्गता भएका क वर्गलाई प्रति महिना दुई हजारका दरले वार्षिक चौबिस हजार र अपाङ्गता ख वर्गलाई प्रतिमहिना ६ सयका दरले वार्षिक सात हजार दुई सय सामाजिक सुरक्षाबापत भत्ता उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ का ७८ वर्षीय रविप्रसाद न्यौपानेले भने, “विगतमा त सुरक्षा भत्ता चार चार महिनाको पाइन्थ्यो, यो वर्ष त जेठ लाग्नै थालिसक्यो । अझै भत्ता पाएका छैनौं । कतै भत्ता कटाएको त होइन सरकारले ?”

न्यौपाने मात्र होइनन् त्रिपुरासुन्दरी नगरपालिका १० का नारायण गिरीले पनि सामाजिक सुरक्षा भत्ता नपाएकामा दुखेसो पोखे । उनले भने, “चुनाव ताका त भोट माग्न आउँदा नेताहरुले खाइपाइ आएको भत्ता बढाएर प्रतिमहिना पाँच हजार बनाउने भन्थे तर यो वर्ष अहिलेसम्म पाँच हजार त के विगतमा पाइरहेको भत्ता समेत पाएका छैनौँ ।”

त्यस्तै, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने ज्येष्ठ नागरिक पुनादेवी न्यौपाने पनि भत्ता पाउने वा नपाउने भन्नेबारे बेखबर छिन् । गाउँमा कोही नयाँ मान्छे आउने बित्तिकै उनी ‘हाम्रो भत्ता कहिले पाइन्छ’ भन्दै सोध्छिन् । “पहिला पहिला त समयमै भत्ता पाइन्थ्यो अहिले त तीन पटक बुझिसक्ने बेला भयो एक पटक पनि पाइएको छैन्, संघीयाता आएपछि खाइपाइ आएको सेवा सुविधा पनि कटौती हुनेरहेछ,” उनले दुखेसो पोखिन् ।

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाले पाउँदै आएको पोषणबापतको भत्ता समेत डोल्पाका बालबालिकाले चालु आवको तेस्रो चौमासिक लाग्नै थाल्दा समेत पाउनसकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्षसम्मका बालबालिकालाई प्रतिमहिना ४०० का दरले वार्षिक चार हजार ८०० पोषण भत्ताबापत उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटका निमित्त कार्यकारी जयशंकर धितालले प्रत्येक वडाबाट जेष्ठ नागरिक तथा बालबालिकाको नयाँ आँकडा नगरमा नआइसकेकाले भत्ता वितरणमा ढिलाइ भइरहेको बताए ।

उनले भने, “प्रत्येक वार्डमा कर्मचारी खटाएर वृद्धवृद्धा ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका, एकल महिला र बालबालिकाको एकिन डाटा संकलन गर्ने काम भइरहेको छ । जेठको दोस्रो सातासम्ममा भत्ता वितरण गरिने छ ।”

त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र बालबालिको पोषण भत्ताको लागि एक करोड चौरासी लाख बराबरको बजेट प्राप्त भएको र वडा वडाबाट विवरण आउन ढिलाइ भएकाले अपुग हुन गएमा थप बजेट माग गर्न भने समस्या पर्ने नगरपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ००:००