१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठराईमा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी



१४ वैशाख, आठराई– तेह्रथुम ।
खानेपानीको चरम समस्या रहेको तेह्रथुमको आठराई गाउँपालिकामा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी निकालिएको छ । खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै रहेको बगाले शहीद स्मृति पार्कस्थित डुङ्कुरी डाँडा र झुमेडाँडामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न निकालिएको हो ।

बगाले पार्कको डुङ्कुरी डाँडामा गाउँपालिकाको ४० लाख लागतमा बुकी पोखरी खानेपानी तथा सिँचाइ आयोजनामार्फत सतहको पानी बाहिर निकाल्ने काम भएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।

गाउँपालिकाको गाउँ परिषद्बाटै आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा खानेपानीका लागि ४० लाख बजेट विनियोजन गरिएको थियो । खानेपानीको अभाव रहँदै आएको यस क्षेत्रमा बोरिङबाट पानी निकालेर समस्याको समाधान गर्न थालिएको हो । खानेपानीको ट्याङ्की र पाइप लाइन विस्तारका लागि अघिल्लो गाउँसभाको निर्णयलाई संशोधन गरेर थप बजेट विनियोजन गरिने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए ।

बोरिङको काम सम्पन्न भएपछि पहिलो चरणमा गाउँपालिकाको केन्द्र संक्रान्तिबजार र बुकी गाउँमा खानेपानी पु¥याउने तयारी भएको छ । निगाले रमिते सामुदायिक वन ह्वाकू र बगाले शहीद स्मृति पार्कको क्षेत्रमा बोरिङ गर्न शुरु भएको करीब १२ घण्टामा १०० मिटर गहिराइमा पानी भेटिएको प्राविधिकहरुले बताएका छन् ।

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट पानी निकालिएको छ । झुमेडाँडामा १२८ मिटरको गहिराइमा पिउन योग्य पानी भेटिएको छ । आठराई थोक्लुङ, चुहानडाँडा लगायतका गाउँमा खानेपानीको समस्यालाई हल गर्न झापाको दमकस्थित अर्पिट रियल स्टेट कम्पनीको लगानीमा बोरिङ गरी जमिनमुनिको पानी लिकाल्ने काम भएको हो ।

खानेपानीको चरम समस्यालाई हल गर्नका लागि बोरिङबाट पानी निकाल्न आठराई गाउँपालिका वडा नं १ संक्रान्तिबजारको वडा कार्यालयले अर्पिटरियल स्टेट कम्पनीलाई अनुमति दिएको थियो ।

सतहको पानी बोरिङ गरी बाहिर निकाल्न मात्र ३८ लाख लगानी भएको अर्पिट रियल स्टेट कम्पनीका प्रबन्धक भैरव सिटौलाले बताए । ट्याङकी निर्माण र पाइप विस्तारको काम शुरु गरी उपभोक्तालाई पानी वितरण गरिने बताइएको छ । काठमाडौमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्यायन गरी आठराईमा बोरिङको काम गरेको हो ।

खानेपानीको अभावलाई समाधान गरी कृषि क्षेत्रमा समेत बोरिङको पानी प्रयोग गरिने बुकी पोखरी खानेपानी तथा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष दुर्गा बहादुर खत्रीले बताए । “खानेपानीका लागि मुहान खोज्यौँ, कतै भेटिएन” समितिका अध्यक्ष खत्रीले भने । “नयाँ प्रविधिबाट निकालिएको पानी दैनिक उपभोग्य काम र कृषिको क्षेत्रमा प्रयोग गर्छांै ।

झुमेडाँडामा पानी निकाल्नका लागि स्थानीय झुमनाथ काफ्लेले ४० लाख मूल्यबराबरको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । संक्रान्तिबजारस्थित मालपोत चोकबाट पानी निकाल्ने स्थान झुमेडाँडासम्म केजी निर्माण सेवाले आठ लाख लागत बराबरको एक किलोमिटर मोटरबाटो निःशुल्क निर्माण गरेको प्रबन्धक सिटौलाले बताए ।

सुख्खा याम शुरु भएपछि आठराईको संक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गा लगायतको गाउँमा खानेपानीको चरम अभाव हुँदै आएको छ । यसअघि तेह्रथुमको छथर गाउँपालिकाले पनि डिप बोरिङ प्रणालीबाट खानेपानी निकालेको छ । तेह्रथुममा खानेपानीका लागि तीनवटा डिप बोरिङ प्रविधिका आयोजना एकैसाथ शुरु भएका छन् ।
रासस

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ००:००