१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ नगरपालिकामा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना



११ वैशाख, बागलुङ ।
बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो ।

कूल ३२ करोड २५ लाखमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ ।

दुई वर्षभित्रै आयोजनाको काम सक्ने गरी तयारी अघि बढाइएको छ । आउँदो साता आयोजना निर्माणका लागि बोलपत्र आह्वान हुने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए । ‘टेण्डर’ प्रक्रिया सक्ने बित्तिकै आयोजना निर्माण शुरु हुनेछ । काठेखोलाको पानीलाई ‘लिफ्ट’ प्रणालीबाट तानेर बागलुङ नगरपालिका–३ रात्माटामा पु¥याइने उनले बताए ।

काठेखोलादेखि ७०० मिटर माथि रात्माटामा बन्ने ५ लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ । कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको खानेपानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । आयोजनाबाट ६० हजार उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले बताए । “आगामी २० वर्षसम्म सफा र स्वच्छ खानेपानी उपलब्ध हुन्छ” उनले भने ।

आयोजनाले नगरपालिकाका वडा नं १, २, ३ र ४ का उपभोक्तालाई चौबिसै घण्टा खानेपानीको सुविधा दिने लक्ष्य लिएको छ । बजार क्षेत्रबाहेकका गहते, बोक्से, सुल्डाँडा, रात्माटा लगायत थप ९०० घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ । हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घुरधुरीले मात्र खानेपानीको सुविधा पाएका छन् ।

पुरानो आयोजनालाई पनि व्यवस्थित गरिने संस्थाका कार्यालय प्रमुख हिमाल शर्माले बताए । डिभिजन कार्यालय र उपभोक्ता संस्था दुवैले संयुक्त रुपमा आयोजना निर्माणको अनुगमन गर्नेछन् ।

बागलुङ नगरपालिकामा २० वर्ष पुरानो आयोजनाका साथै केही वर्षअघि शुरु भएको दोस्रो साना शहरी खानेपानी आयोजना पनि सञ्चालित छ । पुरानो आयोजनाले बढ्दो मागलाई धान्न नसकेपछि ‘लिफ्ट’ प्रणालीको आयोजना निर्माण गर्न लागिएको हो ।
रासस

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलबार ००:००