२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट



२ माघ, इनरुवा ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीय तहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसंग छलफल गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराएका छन् । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि प्रजिअले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन समितिको बैठक डाकी लगत विवरणसहित वितरण गरिएका सामग्रीको बारेमा जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुनासो बढेकाले स्थानीय तहमा उपलब्ध गराइएको राहत सामग्री वितरणको लगत प्रशासनमा बुझाउन आग्रह गरेका हुन् ।

प्रजिअ पराजुलीले राहत सामग्री राजनीतिक आस्थाको आधारमा वितरण गरिएको र थन्क्याएर राखिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पीडितको पहिचान गरी प्राथमिकताका आधारमा तत्काल वितरण गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।

बैठकमा सहभागी स्थानीय जनप्रतिनिधिले राहत वितरणका लागि उपलब्ध सामग्री अपुग भएकाले वितरणमा समस्या उत्पन्न भएको जानकारी गराएका थिए ।

थप राहत माग गरेका स्थानीय तहलाई प्रशासनले उपलब्ध राहतको पारदर्शीता बेगर अन्य सहयोग नदिने स्पष्ट पारेको छ । सुनसरी प्रशासनले दातृ निकाय र संघसंस्थालाई समेत समन्वय गरी राहत वितरणको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

बैठकमा सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
रासस

प्रकाशित मिति : २ माघ २०७४, मंगलबार ००:००