५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य बीमाबाट सर्वसुलभ सेवा नपाएको गुनासो



सन्तोष शर्मा
२३ पुस, बनियानी– झापा ।
झापामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएसंगै सहज रुपमा सेवा नपाएको बिमित सेवाग्राहीले गुनासो गर्न थालेका छन् ।

सेवाग्राहीले तोकिएको स्वास्थ्य संस्थाबाट आफूहरुले विश्वासिलो सेवा नपाएको गुनासो गरेका हुन् । भद्रपुर ८ की अम्बिका गिरीले मेची अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गराएपछि अस्पतालले सञ्चालन गरेको सुपथ औषधि पसलबाट डाक्टरले तोकेभन्दा भिन्न औषधि दिएको गुनासो गरिन् ।

“मलाई डाक्टरको फ्रिस्क्रिप्सनभन्दा भिन्न औषधि दिइयो,” उनले भनिन्, “डाक्टरलाई औषधि देखाउन जाँदा यहाँ यस्तै हो भन्ने जवाफ पाएँ ।” यो औषधिले ठीक हुन्छ भनेर डाक्टरलाई देखाउँदा हाँसेर टारेको उनले गुनासो गरिन् ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पीताम्बर ठाकुरले वितरण गरेको ९२८ प्रकारको औषधि सबै फार्मेसीमा आइनसकेको बताए । “रक्तचाप र मधुमेहका बिरामीका लागि कम्बाइण्ड औषधि दिनुपर्ने हुन्छ” उनले भने, “सबै प्रकारका औषधि आइसकेका छैन ।” उनले सेवाग्राहीबाट कुनै पनि किसिमको गुनासो नआएको दाबी समेत गरे ।

यता, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वाथ्य प्रमुख मधुसुधन कोइरालाले स्वास्थ्य बीमा गराएका सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो आएको बताए । “आम्दा अस्पताल दमकबाट पनि सहजरुपमा सेवा नपाएको गुनासो आएको छ” उनले भने, “तोकिएको स्वास्थ्य संस्थामा फार्मेसी नहुँदा पनि समस्या भएको छ ।”

स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक रमेन्द्रप्रसाद कुश्वाहले झापामा स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक भएको बताए । उनका अनुसार झापामा असोज २५ गतेदेखि सञ्चालन भएको यो कार्यक्रममा असोज महिनाभित्र मात्रै छ हजार ९३४ जनाले स्वास्थ्य बीमा गराएका छन् । जसमा पुरुष तीन हजार ६७६ र महिला ३२५७ रहेका छन् ।

“त्यसयता स्वास्थ्य बीमा गराउनेको संख्या उल्लेख्य बढेको छ,” उनले भने, “निर्वाचनका कारण तथ्यांक संकलनमा केही ढिलाइ भएको छ, त्यसयताको तथ्यांक आउँदैछ ।” जिल्लामा १९२ स्वास्थ्य बीमा अभिकर्ताले स्वास्थ्य बीमा गराइरहेका छन् । प्रबन्धक कुश्वाहका अनुसार एक जना बीमा अभिकर्ताले दैनिक तीन जनासम्मको स्वास्थ्य बीमा गराइरहेका छन् ।

झापामा यो सेवा लिनका लागि बनियानी स्वास्थ केन्द्र, धुलाबारी, शनिश्चरे, सुरुङ्ग, शिवगञ्ज, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र तथा मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोड र आम्दा अस्पताल दमकलाई तोकिएको छ ।

पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार ५०० सेवा शुल्क तिरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने पाउने प्रावधान छ । पाँच जनादेखि बढी सदस्य भएको परिवारले थप ४२५ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउने छन् । सदस्य भएपश्चात सो परिवारलाई वार्षिक ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधिमा खर्च पाउने छन् भने कस्मेटिक सर्जरी, कृत्रिम अंग, चश्मा, सुन्ने यन्त्र, लिंग परिर्वन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागुपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन् ।
रासस

प्रकाशित मिति : २३ पुस २०७४, आइतबार ००:००