१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदानमा धोका नभएपछि वाम एकतामा बल



प्रकाश सिलवाल/रमेश लम्साल

२३ मंसिर, काठमाडौं । पार्टी एकताको घोषणासहित चुनावी गठबन्धनमा उत्रिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले तालमेलको भावनाअनुसार अपेक्षाकृत परिणाम आएको मूल्याङ्कन गरेका छन् ।

यही मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको हालसम्मको मत परिणाममा वाम गठबन्धनले भने झैँ पार्टी एकतासहित स्थिर सरकारमार्फत मुलुकको समृद्धिको यात्रामा अघि बढ्न सहयोग मिल्ने गरी नजिता प्राप्त भएको देखिएको छ ।

गत असोज १७ गते यी ठूला कम्युनिष्ट पार्टीबीच भएको चुनावी तालमेलको सहमति र पार्टी एकताको घोषणालाई कतिपयले सफल नहुने आशङ्का जनाएका थिए ।

विगतमा सहयात्रा र तीक्ततापूर्ण दुवै अनुभव गरेका एमाले र माओवादी केन्द्रका नेता बीच भएको सहमति कार्यकर्ता र मतदातास्तरबाट नरुचाइएको त होइन भन्ने प्रश्न पनि उत्पन्न भएको थियो । यी दलले पार्टी एकताका लागि संयोजन समिति गठन गरिसकेको अवस्थामा निर्वाचनमा सुविधाजनक बहुमतको नजिता आउने आँकलनले दूवै पार्टीका नेता–कार्यकर्तामा थप उत्साह पैदा भएको थियो ।

एमालेका केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आफूहरुको सहमतिको भावना अनुसार नै मत आएको र यसले पार्टी एकताका लागि उल्लेखनीय सहयोग मिल्ने बताउँछन् । “हाम्रो तालमेल र एकताको भावनाअनुसार मुलुकको समृद्धिका काममा अघि बढिनेछ”, उनले भने । रिमालले आफूहरुले अपेक्षा गरेअनुसार मोरङ क्षेत्र नं २ र काठमाडौँ ४ मा पराजयबाहेक अन्य स्थानमा उत्साहजनक परिणाम आइरहेको उनी बताउँछन् ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि आफूहरुको तालमेलमा कुनै तलमाथि नभएको बताउँदै पार्टी एकताका लागि नेता–कार्यकर्तामा थप उत्साह पैदा भएको प्रतिक्रिया दिन्छन् । वाग्लुङका पूर्वसांसद् शर्माले धौलागिरि अञ्चलका चार जिल्लाको मतपरिणाम आफूहरुको पक्षमा आएको बताए

चुनावी तालमेलको सहमतिअनुसार अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरेका थिए ।

हालसम्म घोषित निर्वाचन परिणामअनुसार सिन्धुपाल्चोक, धादिङ, जाजरकोट, दार्चुला, भोजपुर, रुकुम पूर्व र रुकुम पश्चिम, बाग्लुङ, मनाङ, मुस्ताङ, ओखलढुंगा, सोलुखुम्बु, मुगुलगायत जिल्लामा वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका सबै स्थानमा विजयी भएको छ ।

यस्तै ताप्लेजुङ, पाँचथर, दार्चुलमा समेत वाम गठबन्धनले विजयी हासिल गरेको छ । गठबन्धनबाट सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा शेरबहादुर तामाङ, दोलखामा पार्वत गुरुङ, विशाल खड्का र पशुपति चौलागाईं विजयी भएका छन् ।

बाग्लुङमा एमाले, माओवादी केन्द्र र जनमोर्चा नेपालको वाम गठन्धनले दुई वटै प्रतिनिधिसभा र प्रदेशसभाका चार वटै क्षेत्रमा विजयी भएका छन् । हालसम्म घोषित परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा पाँच स्थानका साथ कांग्रेस लगभग तेस्रो स्थानमा देखिएको छ । मतदानमा धाेका नभए पछि यी दुइ कम्युनिष्ट पार्टी एकता गर्न थप बल पुगेकाे छ । रासस 

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००