१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मातृशिशु स्वास्थ्य र पोषणमा पुरुषको भूमिका महत्वपूर्ण छ




बुद्धप्रकाश पौडेल
प्रमुख प्रशासकीय अधिकृत, सुस्ता गाउँपालिका

समग्रमा मातृशिशु स्वास्थ्य र पोषणको अवस्था कस्तो छ ?

सुस्ता गाउँपालिका नवलपरासीको ७ वटामध्ये पिछडिएको पालिकामा पर्छ । यहाँको जिवनस्तर अन्यत्रको भन्दा कमजोर छ । त्यसैले पनि हामीले बहुक्षेत्रीय पोषण योजनासँग सहकार्य गरेर मातृशिशु स्वास्थ्य र पोषणका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।

सुस्तामा ५ वटा वडाको ६ वटा स्वास्थ्य चौकीमार्फत स्वास्थ्यकर्मी परिचालन गरिरहेका छौँ । साथै पालिकाको स्वास्थ्य शाखा अन्र्तगत बहुक्षेत्रीय पोषण योजना पनि सञ्चालित छ । केही बर्षअघिको तुलनामा अहिले मातृशिशु पोषण र स्वास्थ्यको अवस्था सुधारोन्मुख छ ।

स्थानीय तहहरूले गर्भवती र सुत्केरीलाई अन्डा, कुखुरा, बीउबिजन, चल्ला बाँड्छन् । तर त्यसको प्रभावकारिता मूल्यांकन गरिँदैन । किन होला ?

हो, सुस्ताले जस्तै धेरै स्थानीय तहले गर्भवती र सुत्केरीलाई अन्डा, घिउ, कुखुरा, चल्ला, बिउबिजन बाँड्छन् । हाम्रा कार्यक्रम बढी बितरणमुखी भए । त्यसलाई मूल्यांकन गर्न सकिरहेका छैनौँ । मूल्यांकन गरेर कहाँ कति चाहिँदो रहेछ ? कहाँ धेरै हुँदो रहेछ ? भनेर निष्कर्ष निकाल्नु पर्थ्याे ।

अबका दिनमा गाउँपालिकाले पोषणको प्रभावकारिता अध्ययन गरेर कार्यक्रम सञ्चालन गर्ने कोशिश गर्नेछ । जिवनस्तरलाई कसरी चाँडो सुधार गर्न सकिन्छ भनेर अघि बढ्छौँ ।

पोषण व्यवस्थित गर्न तपाइँ कर्मचारी, स्वास्थ्यकर्मी, स्वयमसेवकहरू लागि पर्नुहुन्छ । तर यस अभियानमा जनप्रतिनिधीहरूलाई सामेल गर्न नसकिएको हो ?

यो पनि एउटा कारण हुन सक्छ । हुन त यी कार्यक्रमहरू जनप्रतिनिधीबाटै अनुमोदन भएर कार्यान्वयन हुन्छन् । नीतिगत तहमा उहाँहरूको प्रत्यक्ष संलग्नता रहँदै आएको छ । तपाइँले भन्नु भएजसरी कार्यान्वयन तहमा उहाँहरूलाई संलग्न गराउन हामीले प्रयास नगरेको हो कि भन्ने लाग्छ । कार्यान्वयन तहमा जनप्रतिनिधीको संलग्नता एकदमै आवश्यक छ ।

‘घरमा बनाएको खाना उत्तम, बजारको खाना खत्तम’ भन्ने सोच जबरजस्त तरिकाले स्थापित हुँदै गएको छ । यो पनि ठीक हो र ?

एउटा उदाहरण ! हामीले पोषण कार्यक्रम चलाउन थाले पछि केही उद्योगी व्यापारी ‘हाम्रो खाना यत्ति पोषिलो छ, किनिदिनु होस्’ भनेर आए । जव कि हामीकहाँ धान, मकै, गहुँ, तरकारी फलफुल प्रशस्त उत्पादन हुन्छ । हामीसँग थिएन भने बजारबाट पोषिलो खाना किनेर खान सकिन्छ ।

जहाँको भए पनि पसलहरूमा बच्चाले अत्यधिक रुचाउने जंकफूडहरू बेच्न राखिएका हुन्छन् । त्यसमा उत्पादन भएको र म्याद गुज्रने मिति उल्लेख हुँदैन । बजार अनुगमन स्थानीय तहको जिम्मेवारी पनि हो । सुस्ता गाउँपालिकाले चाँही बजार अनुगमन गरेको छ कि छैन ?

बजार अनुगमन कम प्राथमिकतामा परेको कुरा स्वीर्कानै पर्छ । त्यही भएर हामी पोषण कार्यक्रममा मार्फत सकेसम्म बच्चाहरूलाई घरमै बनाइएको खाना खुवाउनु पर्छ भनेर अभियान नै चलाएका छौँ ।

जंकफूड रुचाउने बच्चाहरूलाई घरको खान खुवाउन गाह्रो भएको देखिन्छ । हामीसँग बच्चाहरूको ‘फूड ह्याबिट’ परिर्वतन गर्ने विधि वा तरिका नभएको हो ?

बजारीकरणको प्रभाव हाम्रो बालबच्चासम्म परेको छ । यसलाई रोक्न सकिँदैन, सुधार गर्दै लैजानु पर्छ । यसका लागी तपाइँले भन्नु भएजस्तै गरि हामीले कार्यान्वयन तहमा पनि जनप्रतिनिधीहरूलाई संलग्न गराउँदा उचित देखिन्छ ।

मातृशिशु पोषण र स्वास्थ्यमा पुरुषको भूमिकाचाँही कस्तो हुनु पर्छ ? यसको महत्व के छ ?

पुरुषको भूमिका एकदमै महत्वपूर्ण छ । तर यही बिषयलाई हामीले बेवास्ता गरिरहेका छौँ । हामी पुरुष पनि आमाको कोखबाटै जन्मिएका हौँ । तर हामीले यही कुरा बिर्सिरहेका छौँ । श्रिमतिलाई सहयोग गर्दा लाज मान्ने अवस्था अहिले पनि छ ।

गर्भवती श्रिमतिलाई सहयोग गर्यो, बच्चा बोकिदियो भने पनि धेरै पुरुषले लाज मान्छन् । तर एउटी महिला जब गर्भवती हुन्छिन्, उसलाई नियमित चेकजाँच गराउने, खानपान, सरसफाईमा ख्याल गराइदिने, बच्चा हुर्काइ दिने सवालमा पुरुषको भूमिका महत्वपूर्ण हुन्छ ।

अर्को, हाम्रो आर्थिक, सामाजिक संरचना पुरुषकै हातमा रहेको छ । राष्ट्रिय अर्थतन्त्र होस् वा घरायसी अर्थतन्त्र पुरुषकै हातमा छ । त्यसले गर्दा निर्णय गर्ने अधिकार पुरुषमै छ ।

शिक्षित परिवारमै पनि निर्णय गर्दा महिलालाई सोध्दैनन् । त्यसैले मातृशिशु स्वास्थ्य र पोषणमा पुरुषको भूमिका महत्वपूर्ण छ र हुनु पर्छ । यो अभियानलाई सुस्ता गाउँपालिकाले पनि अघि बढाउँछ ।

आमा र बच्चाको आपतकालीन उद्दार गर्न के व्यवस्था गर्नु भएको छ ?

हाम्रो पालिकामा एउटा मात्रै एम्बुलेन्स छ । त्यसलाई स्ट्यान्डबाई राखेका छौँ । आवश्यक परेका बेला स्वास्थ्यकर्मीहरू पनि तयारी अवस्थामा राखेका छौँ ।

अन्तिममा भन्नु पर्ने केही छ ?

हामी सबै महिलाको कोखबाटै जन्मिएका हौँ । गर्भवती र बच्चाको स्वास्थ्यले दूरगामी अर्थ राख्छ । त्यसैले सरकारी निकाय, गैरसरकारी संघसँस्था, घर परिवार सबैले मातृशिशु स्वास्थ्यमा प्राथमिकताका साथ लगानी गर्नुपर्छ । भरखरै दोस्रो चरणको स्थानीय निर्वाचन पनि सम्पन्न भएको छ ।

नयाँ जनप्रतिनिधीहरूसँग मिलेर यो कामलाई हामी पनि अघि बढाउँदैछौँ । बहुक्षेत्रीय पोषणको कार्यक्रमलाई अझै बहृद तरिकाले सञ्चालन गर्दैछौँ । यसका लागी संघीय सरकारबाट हामीलाई केही सर्शत बजेट पाउँदै आएका छौँ । पालिका आफैँले पनि बजेट विनियोजन गर्दै आएको छ ।

सुत्केरीलाई पोषण झोला र क्याल्सियम चक्की बितरण, बर्थिङ सेन्टरसम्म लैजान एम्बुलेन्सको प्रबन्धका लागी यसपालीको नीति तथा कार्यक्रमले बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार ००:००