सरावलमा मातृशिशु पोषणको अवस्था २ बर्षअघि कस्तो थियो ? र अहिले कस्तो छ ? केही परिर्वतन भएको छ ?
म यहाँ कार्यरत हुन थालेको करिब २ बर्ष पुग्यो । हामीले नियमित गर्भजाँच, खानपान, सरसफाई, बर्थिङ सेन्टरमा बच्चा जन्माउने जस्ता बिषयहरूलाई प्रभावकारी बनाउन सचेतना कार्यक्रमहरू चलायौँ ।
अहिले पनि बेला बेलामा सचेतनाको कार्यक्रमहरू चलाइरहेका छौँ । हिजोको भन्दा केही परिर्वतन अवश्य भएको छ । मातृशिशु पोषणका सूचकहरूमा पनि पर्याप्त सुधार आएको छ ।
सचेतना कार्यक्रम कर्मचारी, जनप्रतिनिधी, समुदायको महिला समुह कोमार्फत सञ्चालन गर्नुहुन्छ ?
गाउँपालिकाको बिषयगत शाखाका कर्मचारी र स्वास्थ्यकर्मीहरू मार्फत सञ्चालन हुँदै आएको छ । यसबाहेक वडास्तरको स्वास्थ्य सँस्थाहरूबाट पनि कर्मचारी र स्वास्थ्यकर्मी समुदायस्तरमा पुग्नुहुन्छ । पोषणसँग धेरै वडा क्षेत्र जोडिन्छ । गाउँपालिकाको कृषी, स्वास्थ्य शाखाबाट पनि कर्मचारीहरू खटिनुहुन्छ ।
खानपानको स्वभावमा कुनै परिवर्तन आएको छ ?
अरू ठाउँमा जस्तै यहाँ पनि मुख्य खानेकुरा भात नै हो । हामी आइसके पछि पोषण तत्वहरूको विविधताबारे सचेतना कार्यक्रम सञ्चालन ग¥यौँ । पहिले दालभात, आलुको तरकारी खाने बानी थियो । अहिले मातृशिशु पोषणका लागी चाहिने सबै तत्व मिलाएर खाने बानीबारे लक्षित बर्ग जानकार भइसकेका छन् । घरको भान्छाहरूमा सुधार भएको छ ।
मातृशिशु पोषणका लागी पालिकाको कृषी, शिक्षाजस्ता शाखाहरूले चाँही कार्यक्रमहरू सञ्चालन गरेका छन् कि छैनन?
कृषी, शिक्षाजस्ता शाखाहरूको अरू कार्य जिम्मेवारी धेरै छन् । त्यत्ति हुँदाहुँदै पनि ती शाखाहरूले मातृशिशु पोषणलाई लक्षित गरि कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । जस्तो कृषी शाखाले सुनौला हजार दिनका आमा र बच्चा भएको परिवारको करेशाबारीमा तरकारी फल्नु पर्छ भनेर सचेतना कार्यक्रम नै चलाएको छ ।
आवश्यक बीउ बिजन, सामाग्री बितरण गरिरहेको छ । यस पालिकामा स्वास्थ्यसहित शिक्षा, कृषीलगायतका बिषयगत शाखाहरूको राम्रो समन्वयमा मातृशिशु पोषणका कार्यक्रमहरू सञ्चालित भइरहेका छन् ।
कृषी सामाग्री, चल्ला, बीउबिजन बाँडे पछि त्यसको प्रभावकारिता मूल्यांकनको अवस्था किन कमजोर भयो ?
मूल्यांकन हुनु पर्छ । केही मूल्यांकन त भएको छ । तर ठ्याक्कै प्रभावकारिता कस्तो भयो भनेर गहिरिएर मूल्यांकन भएको छैन । तथापी हाम्रो मातृशिशु पोषणको सुचकहरूमा पर्याप्त सुधार आएको छ । खानाको गुणस्तर र विविधता बढेको छ ।
तपाइँहरूले सचेतना कार्यक्रम गर्दा यो खानेकुरा यसरी खानु पर्छ भन्नुहुन्छ । तर कुन खानामा के पोषण कति पाइन्छ भन्ने ठ्याक्कै भन्न सक्नुहुन्न । राज्यको आधिकारिक निकायहरूले पनि यो खानामा यो पोषण यति पाइन्छ भनेर प्रमाणित गरेको छैन । हचुवामै चलिरहेको जस्तो लाग्दैन ?
घरमा आफैँले उत्पादन गरेको खानमै जोड दिइरहेका छौँ । ठ्याक्कै कुन खानामा कति क्यालोरी पाइन्छ भनेर थाह त छैन । तर कुन खाना खाँदा कस्तो फाईदा पुग्छ भन्नेचाँही थाह छ ।
जस्तै, अन्नमा भन्दा चिल्लो खाद्यवस्तुमा क्यालोरी बढी हुन्छ भन्ने थाह छ । तर कुन मासुमा, कुन अन्नमा, कुन गेडागुडीमा कति प्रतिशत वा कति परिणाममा क्यालोरी हुन्छ भन्नेचाँही थाह छैन ।
मातृशिशु पोषणमा सचेतना कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ । मान्छेलाई बुझाउनचाँही कतिको गाह्रो हुँदो रहेछ ?
पोषण भन्ने कुरा पनि मान्छेको खानेबानी परिर्वतनकै कुरा हो । मान्छेको व्यवहार परिर्वतन गर्ने काम सजिलो छैन । मान्छेले सुन्छ, बुझ्छ, तर व्यवहारमा लागू नगर्न सक्छ । यसो भन्दै गर्दा व्यवहार परिर्वतन गर्नै नसक्ने भन्ने पनि होइन । समय लाग्दो रहेछ । आजको भोली नै व्यवाहार परिर्वतन गर्न गाह्रो हुँदो रहेछ ।
सरावलमा उत्पादन हुने खाद्य वस्तुहरू चाँही के के छन् ?
यहाँको मुख्य अन्नबाली धान हो । त्यसपछि गहुँ र उत्पादन हुन्छ । जाडो मौसममा बन्दकोभी, भिन्डी, बोडीजस्ता धेरैथरि तरकारी उत्पादन हुन्छ । मासुमा कुखुरा र हाँस हुन् । कुखुरा र हाँस प्रत्येकजस्तो घरमा पालेका छन् ।
खसआर्य बहुल क्षेत्रमा चाँही गाईभैंसी पाल्ने भएको हुँदा दही दूध बढी पाइन्छ । थारु समुदायमा बङ्गुर पाल्छन् । यहाँ माछा पनि उत्पादन हुन्छ । माछा सबै जसोले खान्छन् । जोडोयाममा च्याउ खेति पनि हुन्छ ।
प्राकृतिक रुपमा पाइने खानाचाँही कतिको खान्छन् ?
यहाँ त्यस्तो खाना अलि कम नै खान्छन् । अन्यत्र खाने कर्कलो, सिस्नुहरू यहाँ खाने परम्परा छैन । जंगलमा पाइने न्यूरोचाँही खान्छन् ।
बजारबाट किनेरचाँही कतिको खान्छन् ?
उब्जनी कम भएको सिजनमा तरकारीहरू किनेर खाने चलन छ । गर्मीयाममा तरकारी कम उत्पादन हुन्छ । त्यसबेला किनेर खान्छन् । जाडोयाममा भने तरकारी प्रशस्त हुन्छ ।
सिजनमा पाइने तरकारीहरू सुकुटी, गुन्द्रुक बनाएर राख्ने चलन छ कि छैन ?
मधेशी र चौधरी समुदायमा भन्दा पनि पहाडी खस आर्य समुदायमा गुन्द्रुक राखेर खाने चलन छ । मूलाको चानाहरू सुकाएर राख्ने चलन छ ।
पोषणको क्षेत्रमा काम गर्ने तपाइँहरूले ‘बजारको खानेकुरा सबै खत्तम, घरको खान मात्रै उत्तम’ भन्नेजस्ता कुरा गर्नु हुन्छ । यो पनि त होइन होला नि !
बजारमा पाइने सबै खानेकुरा सबै खत्तम भन्ने त हुँदैन । तर बजारको भन्दा घरको खाना उत्तमचाँही पक्कै हो । किनकी बजारबाट खानेकुरा किन्दा गुणस्तरहीन पर्न सक्ने जोखिम जत्ति हुन्छ, त्यत्ति जोखिम घरमै उत्पादन हुने खानामा हुँदैन ।
बजारको खानेकुरा व्यवसाय लक्षित भएको हुँदा म्याद नाघेको, अखाद्य रङ प्रयोग गरेको, बिषादी धेरै प्रयोग गरेको पाइन्छ । तर घरमै उत्पादन हुने खानेकुरामा यस्तो पाइँदैन । यो बजार अनुगमन र ल्याब परीक्षणले नै पुष्टी गरेको कुरा हो ।
प्रतिक्रिया