११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारमाथि आक्रमण बढेपछि चितवनमा सुरक्षा व्यवस्था कडा



नारायण अधिकारी
२८ कात्तिक, चितवन ।
रोल्पा, रुकुमलगायत जिल्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चितवन ३ मा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे लगायत उम्मेदवार छन् । चितवन क्षेत्र नं २ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी तथा क्षेत्र नं १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे पनि उम्मेदवार छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठ पनि उम्मेदवार छन् ।

पूर्वमन्त्री, मन्त्री र पार्टीका अध्यक्ष नै उम्मेदवार भएपछि जिल्लाको सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सामान्य अवस्थामा रहेको चितवनमा पछिल्ला दिनमा सुरक्षा चुनौती थपिएको बताए । उनका अनुसार पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, राज्यमन्त्री र पूर्वमन्त्रीले पाउने सुरक्षा व्यवस्थाका अतिरिक्त थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा सुरक्षा चुनौती महसूस गरिएको छ भन्दै उनले पूर्वप्रधानमन्त्री दाहालको घरदैलो कार्यक्रमको समयपूर्व नै त्यस क्षेत्रको अध्ययन गरी सुरक्षा व्यवस्था मिलाउने गरिएको छ । भीडभाड बढी हुने र कुनै पनि किसिमको घुसपैठ हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको उनले बताए । चुनाव प्रचारप्रसार कार्यक्रम जुध्न नदिनका लागि पूर्वतयारी पनि गरिएको छ ।

प्रजिअ नारायणप्रसाद भट्टले जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा, अन्तरपार्टी कलह, अस्वस्थ प्रतिस्पर्धा, पार्टीगत वैमनस्यता, गुण्डाको प्रयोग लगायत विषय चुनौतीका रुपमा देखापरेको बताउछन् । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, भारतीय सीमा क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जलगायत वन क्षेत्रलाई पनि सुरक्षा चुनौतीका रुपमा लिइएको जनाइएको छ ।

पहिलो चरण निर्वाचन सकेर अन्य जिल्लाबाट मानिस आउन सक्ने भएकाले त्यसका विषयमा पनि जिल्ला सुरक्षा समिति चनाखो रहेको छ । कहीँ कतै पनि सुरक्षा कमजोरी हुन नदिन आवश्यक सबै तयारी गरिएको प्रजिअ भट्टले बताए ।

जिल्लाका होटल तथा रेस्टुराँमा आउने व्यक्तिको निगरानी राखिएको छ । कुन होटलमा के कति मानिस बसेका छन्, उनीहरुको नियमित रेकर्ड राख्ने गरिएको छ । जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र जिल्लाको प्रहरीको टोलीले सुष्म रुपमा अनुसन्धान गरिरहेको पनि उनले बताए ।

भारतीय नं प्लेटका सवारीको निगरानी पनि गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोली, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिए ।

जिल्लामा नेपाल प्रहरीका मात्रै तीन हजार २९६ जना परिचालन हुनेछन् । म्यादी प्रहरी एक हजार ७१० छन् । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीच घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुनेछन् ।

जिल्लामा १६१ मतदानस्थल कायम गरिएको छ । तीमध्ये ५२ मतदानस्थललाई अति संवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाका ४०८ मतदान केन्द्रको सुरक्षाका लागि तीन हजार २९६ नेपाल प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म नेपाल प्रहरी र आवश्यकतानुसार म्यादी प्रहरी परिचालन गरिने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोलीसमेत परिचालन गरिने बताइएको छ ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार ००:००