२२ माघ २०७९, आइतबार | Mon Feb 6 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा



 

२४ कात्तिक, बैतडी । आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । मंसिर ५ गतेदेखि जिल्लाभरि नै मदिराको कारोबारमा रोक लगाइने उनले बताए । मदिराका कारण चुनावी सुरक्षामा खलल पर्ने भएकाले मदिराको कारोबारमा रोक लगाउने निर्णय भएको हो ।

मदिराको कारोबार रोक्नका लागि प्रत्येक स्थानीय तह र प्रहरी युनिटमा परिपत्र गरिसकिएको छ । निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा मंसिर १० गते निर्वाचन हुँदैछ ।

मतपत्र बाहेकका निर्वाचन सामग्री आइपुग्यो
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि मतपत्र बाहेकका निर्वाचन सामग्री बैतडी आइपुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनका बेला आवश्यक पर्ने निर्वाचन सामग्री, मतदाता शिक्षा सामग्री लगायतका आवश्यक सामग्री पुगेका हुन् ।

बैतडीमा ढिला गरी निर्वाचन सामग्री आएका कारण रोकिएको निर्वाचन शिक्षा कार्यक्रम कात्तिक २६ गते हुने भएको छ भने मतदाता शिक्षा स्वयंमसेवकलाई कात्तिक २५ गते तालीम दिइने भएको छ ।

निर्वाचन केन्द्रित बैतडीका राजनीतिक दलले आजभोलि प्रचारप्रसारलाई तीव्र गति दिएका छन् । सबै राजनीतिक दल गाउँकेन्द्रित भएर आ–आफ्नो पक्षमा मत पार्न सक्रिय छन् । बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई सिट रहेको बैतडीमा १२ जना चुनावी मैदानमा रहेका छन् ।
रासस

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार ००:००