१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पामा चुनावी माहोलः कांग्रेस र वामगठबन्धनबीच नै प्रतिस्पर्धा



 

रामचन्द्र न्यौपाने
२३ कात्तिक, दुनै- डोल्पा ।

दुर्गम जिल्ला डोल्पामा आसन्न संघ र प्रदेशको निर्वाचनका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका साना तथा ठूला दलका उम्मेदवार प्रतिष्पर्धात्मक हिसाबमा प्रचारप्रचारमा जुटेका हुन् ।

के गर्दैछ एमाले ?
आसन्न निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन संयुक्तरुपमा चुनावी प्रचारप्रचारका लागि अहोरात्र खटिएका छन् । गठबन्धनको तर्फबाट प्रदेश क्षेत्र नं १ बाट उम्मेदवार बनेका एमालेका नन्दसिंह बुढा आफ्नै क्षेत्रमा प्रचारप्रचारमा सक्रिय छन् । पहिलो पटक सांसदको टिकट पाएका बुढा एमाले जिल्ला कमिटी सचिव समेत हुन् ।

बुढाले अहिले आफ्ना कार्यकर्तासहित उपल्लो डोल्पामा भोट माग्दै घरदैलो गरिरहेका छन् । उनकै क्षेत्रमा पर्ने दुनै, जुफाल, रह, तिप्ला लगायतका गाउँमा समेत घरदैलो अभियान तीव्र पारिएको डोल्पा एमालेले जनाएको छ ।

क्षेत्र नं १ मा पर्ने उपल्लो डोल्पा एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको डोल्पा एमालेको दाबी छ । उक्त क्षेत्रको उपल्लो डोल्पामा पर्ने छार्का ताङसोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र ठूलीभेरी नगरपालिकामा एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको वाम गठबन्धनबाट एमालेबाट उम्मेदवार बनेका नन्दसिंह बुढाले दाबी गरे ।

प्रचारका क्रममा डोल्पाली जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक गठबन्धनका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ ।

उक्त क्षेत्रमा कांग्रेस पनि बलियो प्रतिष्पर्धीको रुपमा रहेको छ, उक्त क्षेत्रबाटै उम्मेदवार बनेका बेगमसिंह ठकुरी पनि कार्यकर्तासहित चुनावी प्रचारप्रचारमा उपल्लो डोल्पातिरै छन् । स्थानीय चुनावमा ठूलीभेरी नगरपालिकाको प्रमुख पदमा थोरै मतले हार व्यहोरेको कांग्रेस यस कारण पनि बलियो प्रतिपक्षको रुपमा रहेको हो । कांग्रेसबाट प्रदेशमा उठेका ठकुरी पनि नयाँ अनुहार नै हुन् ।

ठकुरीलाई जिताउन कांग्रेस जिल्ला पार्टी सभापतिसहित सयौँ कार्यकर्ता चुनावी प्रचारप्रचारमा होमिएका छन् । त्यस्तै, गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व सांसद धनबहादुर बुढा तीव्ररुपमा चुनावी प्रचारप्रचारमा जुटेका छन् ।

प्रतिनिधि सभाका उम्मेदवार बनेका बुढाले आसन्न निर्वाचनका लागि दशैँअगावै पहिलो चरणको प्रचारप्रचार गरिसकेको एमालेको भनाइ छ । अहिले दोस्रो चरणको प्रचारप्रचारमा एमाले जुटेको हो । दोस्रो संविधान सभाको चुनावमा डोल्पाबाट माओवादी केन्द्र र कांग्रेसलाई हराउँदै भारी मतले विजयी भएका बुढा अहिले तल्लो डोल्पामा मत माग्दै जनताको घरदैलो गरिरहेका छन् ।

डोल्पा एमालेमा अभिभावकको भूमिकामा रहेका बुढा सरल स्वभाव भएकै कारण धेरै जनताको मन जित्न सफल भएको स्थानीय नेता लक्ष्मी सार्कीले बताउछिन् । प्रतिनिधि सभाका उम्मेदवार बुढा धन, मन, असल स्वभावका धनी नेताका रुपमा जिल्लामा परिचित छन् । डोल्पाबाट एक पटक सांसद भइसकेका बुढा यसपटक पनि भारी मतले विजयी हुने एमालेको दाबी छ ।

यसै पनि डोल्पामा पहिलो पार्टीका रुपमा रहेको एमाले माओवादी केन्द्रको समेत साथ पाउने भएपछि ढुक्क भएर चुनावी प्रचारप्रचारमा जुटेको छ ।

के गर्दैछ कांग्रेस ?
डोल्पामा आन्तरिक विवादमा फस्दै आएको डोल्पा कांग्रेस आसन्न चुनावका लागि भने एकजुट भएर चुनावी प्रचारप्रचार कार्यलाई तीव्र पारेको छ । कांग्रेसबाट प्रतिनिधि सभाको टिकट पाएका अंगतकुमार बुढा र प्रदेश क्षेत्र नं १ का बेगमसिंह ठकुरी चुनावी प्रचारप्रचारको क्रममा उपल्लो डोल्पामा पुगेका छन् ।

कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका बुढाले डोल्पालाई विकास, सुशासनको बाटोतर्फ डो¥याउनका लागि अमूल्य मत दिई सहयोग गर्न डोल्पालीलाई आग्रह गरेका छन् । जिल्ला पार्टी सभापतिसमेत रहेका प्रतिनिधि सभाका उम्मेदवार बुढा विकासवादी, भ्रष्टाचारमुक्त समाज निर्माणमा अभियन्ताको रुपमा डोल्पामा परिचित छन् ।

एमालेका धनबहादुर बुढा र कांग्रेसका अंगतकुमार बुढा काइके गाउँपालिकाअन्तर्गत एउटै गाउँका भएपनि राजनीतिक हिसाबमा भने वर्षौंदेखि प्रतिस्पर्धा कायमै छ ।

त्यस्तै, प्रदेश क्षेत्र नं २ मा उठेका कांग्रेसका उम्मेदवार सुरेश शाही नौलो अनुहार होइनन् । दोस्रो संविधान सभाको चुनावमा कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बनेका शाही एमालेसंग पराजित भएका थिए ।

यसपटक शाही धुमधामका साथ चुनावी प्रचारप्रचारमा जुटेका छन् । यसपटक क्षेत्र नं २ बाट कांग्रेसको जित सुनिश्चत भन्दै स्थानीय नेता कार्यकर्ता भोट मागिरहेका छन् । उक्त क्षेत्रबाट गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर शाही छन् तर संकटकालमा माओवादीले जनतालाई दुःख दिनेदेखि आस्थाका धरोहर मन्दिरसमेत तोडफोड गरेकाले कतिपय क्षेत्रका जनताले यसकै आधारमा भोट नदिने कांग्रेसको दाबी छ ।

प्रदेश क्षेत्र नं २ मा स्थानीय चुनावमा र आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा पटकपटक माओवादी केन्द्र र एमालेका स्थानीय कार्यकर्ताबीच हुने गरेको विवादका कारण पनि कांग्रेसलाई फाइदा हुने नेपाली कांग्रेस डोल्पाका सचिव जयनन्द उपाध्यायले दाबी गरे ।

स्थानीय चुनावमा त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख पदमा झिनो मतले पराजय भोगेका दिलबहादुर विष्ट कांग्रेसलाई भोट माग्दै तल्लो डोल्पामा घरदैलो अभियानमा जुटेका छन् । डोल्पामा उदारवादी नेताको रुपमा परिचित विष्ट, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायसहितको टोली शाहीको पक्षमा मत माग्न तल्लो डोल्पामा प्रचारप्रचारमा खटाइएको कांग्रेसले जनाएको छ ।

त्यस्तै, संघ र प्रदेशमा उठेका साना दलहरु नयाँ शक्ति पार्टीका पुष्प बुढा, नेकपा मालेका हर्कबहादुर रोकायलगायतका विभिन्न पार्टीका उम्मेदवार पनि चुनावी प्रचारप्रचारमा अभियानमा जुटेका छन् ।

नेता कार्यकर्ता सबै गाउँघरतिर चुनावी प्रचारप्रचारमा जुटेपछि सदरमुकाम दुनै, त्रिपुराकोट, जुफाललगायतका स्थानीय बजार सुनसान भएका छन् ।
रासस

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार ००:००