२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्णमा वैकल्पिक पदमार्ग शुरु



 

२१ कात्तिक, बेँसीशहर— लमजुङ । अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्गको शुरुवात गरिएको छ । मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेको हो ।

बेँसीशहरबाट खुदीसम्म निर्माण सम्पन्न वैकल्पिक मार्गको एक कार्यक्रमबीच सोमबार उद्घाटन गरिएको हो । पूर्व सांसद जमिन्द्रमान घलेले उक्त पदमार्गको उद्घाटन गरेका हुन् । पदमार्ग उद्घाटनसंगै कार्यक्रमका सहभागीले पदयात्रासमेत गरेका थिए ।

अहिलेको अन्नपूर्ण पदमार्गमा मोटरबाटोका कारण अवधि छोटिँदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि नयाँ विकल्प खोजिएको वैकल्पिक पदमार्ग निर्माण समिति सचिव पूर्णबहादुर गुरुङले बताए ।

“पदमार्ग छोटिँदा र सवारी समस्याका कारण पर्यटकको संख्या अघिल्ला वर्षको अनुपातमा बढ्न सकेको छैन” गुरुङले भने, “ विगतको अनुपातमा पर्यटक घट्दै गएका कारण उनीहरुलाई आकर्षित गर्न नयाँ मार्ग आवश्यक भयो ।”

पैदलयात्रा मार्गको निर्माण र शुरुवातसंगै पर्यटकीय क्षेत्रको प्रचारप्रसार र नयाँ पर्यटकीय गन्तव्यको खोजीमा समेत लागिपरेको वैकल्पिक पदमार्ग अभियन्ता एवं पर्यटन व्यवसायी त्रिपल टी गुरुङले बताए ।

“वैकल्पिक पदमार्गसंगै नयाँ गन्तव्यको प्रवर्द्धन गर्छौं” गुरुङले भने, “अन्नपूर्ण पदमार्गको पहिलेको साखलाई जीवित राख्दै विश्वभर सकारात्मक प्रभाव पार्दै स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउने लक्ष्य छ ।”

बेँसीशहरको पुमाखोलाबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीसम्म वैकल्पिक पदमार्ग निर्माण भइसकेको छ । उक्त पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथप्रदर्शक सूचना राख्नुका साथै, सिँडी लगाउने, जोखिमस्थानमा जाली लगाउने, खोलामा काठेपुल राख्नेजस्ता काम गरिएको छ ।

खुदीदेखि बाहुनडाँडा, स्यागे हुँदै मनाङका विभिन्न गाउँलाई जोडेर पदमार्ग निर्माणाधीन अवस्थामा रहेको पनि समितिले जनाएको छ । पदयात्रा छोट्टिएसंगै धरापमा रहेका होटल व्यवसायी पनि वैकल्पिक पदमार्ग सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।

सदरमुकाम बेँसीशहर भएर वार्षिक २५ हजारको हाराहारीमा पर्यटक अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । पहिले–पहिले बेँसीशहरबाट शुरु भएको अन्नपूर्ण पदयात्रा मनाङ, मुस्ताङको मुक्तिनाथ, जोमसोम, म्याग्दी हुँदै २१ दिनमा पोखरामा टुङ्गिन्थ्यो । पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि २१ दिनको यात्रा एक सातामा टुङ्गिने गरेको छ ।
रासस

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलबार ००:००