२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै खाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्नुस्ः डा आयुक्त




काठमाडौँ
, १९ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित तुल्याउन सबैखाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्न निर्वाचन अनुगमनकर्तालाई निर्देशन दिएका छन् ।

पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनमा खटिने नेपाल सरकारका सचिव एवं सहसचिवका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको मतबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन चनाखो भई दृढताका साथ कार्य गर्न सुझाव दिए ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारबाही गर्न निर्देशन दिँदै डा यादवले कतिपय जिल्लाको भौगोलिक अवस्था र मौसमानुकूल नदेखिए पनि निर्वाचन सफल तुल्याउन सरोकार भएका सबै पक्षसंग समन्वय र सहकार्य गरेर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन, कम खर्चिलो बनाउन, राज्यको श्रोतको हुनसक्ने दुरुपयोग रोक्न र राजनीतिक दल र उम्मेदवारबीच हुने द्वन्द्व रोक्न निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको बताए ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन कुनै गुनासो आउन नदिने ढंगले काम गर्न अनुगमनकर्तालाई निर्देशन दिए ।

अनुगमन टोलीमा एक उपमहालेखा परीक्षकसहित ३७ सहसचिव खटिनेछन् । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधिसभातर्फ मुलुकका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मंसिर १० गते निर्वाचन हुँदैछ ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार ००:००