१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको नीति तथा कार्यक्रम बैज्ञानिकः महासचिव पोखरेल



१७ कातिक काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीको नीति तथा कार्यक्रम बैज्ञानिक भएको दाबी गरेका छन् । मुलुकको स्थायित्व, दिगो शान्ति र विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न जनतालाई आग्रह गरेका छन् ।

एमालेको क्षेत्र नं ५ प्रदेश (ख) को आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै पोखरेलले जनताको समृद्धिको चाहनालाई पूरा गर्न आफूहरू सक्षम रहेको बताए ।

उनले वाम गठबन्धनको औचित्य पुष्टि हुनेगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । पोखरेल त्यस क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत छन् ।

कार्यक्रममा एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापाले वामपन्थीको गठबन्धनलाई चौतर्फी घेराबन्दी भइरहेको टिप्पणी गरे । साथै राष्ट्रको अखण्डता र जनताको स्वाभिमानलाई कायम राख्न एमालेले कसैसँग पनि सम्झौता नगर्ने प्रष्ट पारे ।

प्रदेश (ख) का उम्मेदवार दीपक निरौला, प्रदेश (ख) का संयोजक शान्ति अधिकारी, सहसंयोजक मनिराज डंगोललगायतले एमालेले देश र जनताको पक्षमा लिएका नीति र कार्यक्रम वैज्ञानिक रहेको बताउँदै यसलाई कार्यान्वयन गर्न जनताले वाम गठबन्धनलाई जिताउने विश्वास व्यक्त गरे ।

उनीहरूले विगतमा एमालेले सरकार सञ्चालन गर्दा ल्याएका सामाजिक सुरक्षा कार्यक्रम, आफ्नो गाउँ आफैँ बनाऔँजस्ता कार्यक्रम अहिलेसम्म पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ००:००