५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माेरङमा प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १२७ जनाकाे उम्मेदवारी




विराटनगर
, १६ कात्तिक । दोस्रो चरणको निर्वाचन अन्तर्गत छ संसदीय र १२ प्रदेशसभा रहेको मोरङमा १९४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमध्ये प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १२७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । छ वटै संसदीय क्षेत्रबाट नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका छन् भने वाम गठबन्धनका तर्फबाट नेकपा एमालेले क्षेत्र नं १, २, ३ र ६ तथा नेकपा माओवादी केन्द्रले ४ र ५ बाट मनोनयनपत्र दर्ता गराएका हुन् । देशभक्त जनप्रजातान्त्रिक मोर्चा, एकीकृत राप्रपा राष्ट्रवादी लगायत दलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नं ६ बाट नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र बाम गठबन्धनका तर्फबाट एमालका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा ११ राजनीतिक दलका साथै प्रदेशसभाका दुई वटै क्षेत्रबाट २५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं २ बाट कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र एमालेबाट ऋषिकेश पोखरेल समेत गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रको दुई वटै प्रदेशसभाका लागि २० जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

क्षेत्र नं ३ बाट कांग्रेस, एमाले, समाजवादी फोरम, राजपा लगायत गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रका दुई वटै प्रदेशबाट २० जनाले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, नेकपा माओवादी केन्द्र बाट अमनलाल मोदीसमेत गरी ११ जना र सो क्षेत्रका दुईवटै प्रदेशबाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्र नं ५ बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल, कांग्रेसका केन्द्रीय सदस्य अमृतकुमार अर्याल, राजपाबाट पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल, समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवसमेत गरी सात र सो क्षेत्रका दुई वटै प्रदेशबाट १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा ११ र दुई वटै प्रदेशबाट २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार ००:००